त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ।
आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ। सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन्।
यो खबर आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन्।
पर्याप्त बजेट विनियोजन भए चालू आर्थिक वर्षभित्रै करिडोरको ट्र्याक निर्माण पूरा हुने छ । कुल २८४ किलोमिटर करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट बाजुराको कवाडी हुँदै चिनियाँ सीमा जोड्ने हुम्लाको हिल्सासम्मको पाँच स्थानमा ट्र्याक खोल्न बाँकी रहेको उत्तर दक्षिण व्यापारिक आयोजनाले जनाएको छ।
हुम्लाका अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा भन्छन्, “सञ्चार सम्पर्कसम्म नहुने अदानचुलीको गल्फागाड र सर्केगार्ड गाउँपालिकाको जैरको खच्चामा नेपाली सेनाको निर्माण कार्यदलले तीव्र रूपमा काम गरेको देखिन्छ । अब छिट्टै पूरा हुने आशा पलाएको छ।”
२०६५÷६६ देखि सुरु भई २०७० मा करिडोर निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थियो । तर अपर्याप्त बजेट र भौगोलिक विकटताले कर्णाली करिडोर निर्माणले प्राथमिकता पाउन सकेन । २०७८÷७९ सम्म सम्पन्न हुने संशोधित लक्ष्य तय गरिएको छ।

प्रतिक्रिया