छापा खबर


बालुवाटारमै भएको विश्वविद्यालय सभामा पनि ओली किन गएनन्?

बालुवाटारमै भएको विश्वविद्यालय सभामा पनि ओली किन गएनन्?

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १:१३,

कुलपतिका हैसियतमा आफैँले समय तोकेर बालुवाटारमै बोलाएको दुई विश्वविद्यालयको सभामा समेत प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् ।

मंगलबार कृषि तथा वनविज्ञान र बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा बालुवाटारमा बसेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

उपत्यकाबाहिर स्थापना भएका यी दुवै विश्वविद्यालयको सभाको अध्यक्षता सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरे । दुवै विश्वविद्यालयले बजेट पारित गर्नका लागि सभा आयोजना गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले बालुवाटारमा भएको सभा बैठकमा प्रधानमन्त्री उपस्थित नभएको बताए ।

‘अरू बैठक भएका कारण सभामा आउन सक्नुभएन,’ उनले भने । प्रधानमन्त्रीलाई अनुकूल हुने गरी धेरै विश्वविद्यालयका सभा बालुवाटारमै हुने गरेका छन् । मंगलबारको कृषि विश्वविद्यालयको सभामा जग्गाको विषय पेचिलो भएकाले प्रधानमन्त्री अनुपस्थित भएको हुन सक्ने सभा सदस्यहरूको अनुमान छ ।

‘प्रधानमन्त्री सभामा उपस्थित नहुनुमा कार्यव्यस्तता मात्र नहुन सक्छ,’ सभा सदस्य डा। ईश्वरीप्रसाद कडरियाले भने, ‘अघिल्लो वर्ष सिनेट बैठकले अस्वीकार गरेको रामपुरको क्रिकेट रंगशालाको जग्गा प्रकरण पछि जिल्ला तहमा उल्टिएको प्रसंग सभामा उठ्ने भएकाले अप्ठ्यारो महसुस गरेको हुन सक्छ।’

त्रिवि र कृषिको जग्गा विवाद छ । त्रिविको जग्गामा कृषि विश्वविद्यालय स्थापना भए पनि त्रिविले हस्तान्तरण गरेको छैन । जग्गा त्रिविकै नाममा छ, विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । त्यही जग्गामा क्रिकेट रगंशाला निर्माण गर्न राजनीतिक तहमा निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad