कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन्।
कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पोजिटिभ देखियो। तर, कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो।
भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजिटिभ देखियो। उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए। प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन्। ‘अहिले यहीनेर थिए। सायद घर गए होलान्’, उनका दाजुले भने।
सुर्खेतको लेकबेसी—४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो। ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए। नाकाबाट अरू पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए। उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे।
यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजिटिभ देखियो। उनलाई पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो। उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे। उनले अछामका लागि बसको टिकट बनाएका छन्।
भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँका विभिन्न राज्यमा शनिबार मात्रै ४९ हजार जनामा संक्रमण देखिएको छ। तीमध्ये पनि सात सयभन्दा बढीमा कोरोनाको दोस्रो चरणको भाइरस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपालतर्फ सीमा नाकामा हेल्थ डेस्क राखिएका छन्। त्यहाँ स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरूले भारतबाट आएकाहरूको एन्टिजेन परीक्षण गरिरहेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा शिवराज भट्टले लेखेका छन्।
‘तर पोजेटिभ आएका व्यक्तिलाई सुरक्षित आइसोलेसनसम्म पुर्याउने कुनै साधन छैन। हामीलाई घरमा आइसोलेसन बस्ने र पाँचवटा मास्क दिएर पठाइदिने भनिएको छ’, गौरीफन्टा नाकाका हेल्थ डेस्क इन्चार्ज गणेश साउदले भने, ‘हामीले परीक्षण गरिदिने हो। पोजेटिभ देखिएका व्यक्तिहरूलाई कसरी घरसम्म पुर्याउने? एम्बुलेन्सको व्यवस्थापन गर्ने र अस्पतालसम्म वा आइसुलेसनसम्म पुर्याउने कार्य स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारको हो। उनीहरूलाई पठाउने साधन छैन।’
कैलालीको गौरीफन्टा नाकामा चैत ३ गते हेल्थ डेस्क राखिएको हो। त्यसको १० दिनमा मात्रै ३७ जनामा एन्टिजेन पोेजेटिभ देखिएको छ। ‘पाँच–छ जना बिरामी, जसलाई लक्षण नै देखिएको थियो, उनीहरूलाई त हामीले आफैं अटोको भाडा तिरेर सेती प्रादेशिक अस्पतालको आइसोलेसनसम्म पठायौं’, इन्चार्ज साउदले भने, ‘तर, अरू पोजिटिभ देखिएका र लक्षण नभएकाहरूलाई भने सीधै घर पठाउनुको विकल्प छैन।’
स्वास्थ्यकर्मीका अनुसार एन्टिजेन पोजेटिभ देखिएका व्यक्तिमा ९९ प्रतिशत पीसीआर पोजिटिभ देखिन्छ। यसमा व्यक्तिको स्वाब संकलन गरी १५ मिनेटमा परीक्षण गर्न सकिन्छ। ‘यसको विश्वसनीयता पीसीआरजत्ति नै हुन्छ। त्यसैले एन्टिजेन पोजेटिभ देखिएका व्यक्ति कोरोनाका संक्रमित हुन् भन्ने पक्कापक्की हुन्छ’, साउदले भने, ‘तर सार्वजनिक यातायातमा घर पठाउनुको विकल्प पनि छ हैन।’
सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार गौरीफन्टा भएर दैनिक हजारभन्दा बढी नेपाली स्वेदश फर्किरहेका छन्। दैनिक चार–पाँच जना पोजिटिभ देखिरहेका छन्। तर उनीहरूलाई सीधै घर जान दिइएपछि कोरोना समुदायमा फैलिने खतरा बढेको छ।

प्रतिक्रिया