छापा खबर


नेपालमा फेरि होला लकडाउन?

नेपालमा फेरि होला लकडाउन?

नेपालखबर
चैत ११, २०७७ बुधबार २:०,

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला?’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्। ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा.राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’

उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ। ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ’, उनी भन्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्‍याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ।

‘गत वर्ष विकसित मुलुकबाट स्वदेश फर्कनेको पीसीआर रिपोर्ट अनिवार्य गरियो। भारतबाट घर फर्कनेलाई पीसीआर रिपोर्टबिना हुरुरु छिर्न दिइयो। घर पठाइयो’, जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी भन्छन्, ‘यही दोहोरो मापदण्डले कोरोना संक्रमण बढ्यो। लकडाउन घोषणाको अवस्था आयो।’

कोरोना संक्रमणको एक वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ। भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन पुगेका छन्। सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झन्डै चार लाख पुगेको छ। नेपाल–भारत नाकाबाट निर्बाध आवतजावत भइरहेको छ। कोरोना संक्रमणलाई देखाएर लकडाउन घोषणा गर्न नहुने डा.मरासिनी बताउँछन्। विगतको गल्ती सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँछन्। ‘एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ’, प्रवक्ता डा.गौतम भन्छन्, ‘तत्कालै लकडाउनको योजना छैन। जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ। संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नुपर्छ। मास्क लगाउनुपर्छ। साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।’

नेपालमा पनि संक्रमण बढ्न सक्ने हुँदा देशभर भीडभाड हुने कार्य नगर्न÷नगराउन अनुरोध गरिएको डा.गौतम बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad