प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएकी मुगुकी ठिल्ले साङमु लामा विद्यालय जानै छोडेकी छिन्।
३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए। तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी खबर आजको समाचारपत्र दैनिकले छापेको छ।
निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको अभाव र तनावका कारण विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढेको छ । यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ।
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका–८ मा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गरिएकी ठिल्ले साङमु लामा आफ्नै स्कुलेसाथीभाइबाट हेपिन पुगेकी छन्।
कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका थिए। तर अहिले २ वर्ष बितिसक्दा पनि पढाइ खर्चलगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरेअनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमा समेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउने गरेका छन्।
लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तीक्ष्ण भए तापनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम नहुँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ।
यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बताए।
Shares

प्रतिक्रिया