छापा खबर


प्रदीप ज्ञवालीलाई प्रश्न: एमाले अर्को विभाजनतिर गएको हो?

प्रदीप ज्ञवालीलाई प्रश्न: एमाले अर्को विभाजनतिर गएको हो?

नेपालखबर
चैत २, २०७७ सोमबार ०:३४,

नेकपा (एमाले)का सचिव तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले फागुन २८ गते बालुवाटार बैठकले गरेका निर्णय वैधानिक भएको दावी गरेका छन्।

‘त्यो निर्णय वैधानिक छ । हाम्रो पार्टीको विधानअनुसार नै निर्णय गरेका हौँ । पार्टीमा एकता र एकीकरणको आवश्यकतालाई ध्यानमा राखेर २० प्रतिशतसम्म मनोनयन गर्न पाउने व्यवस्था छ,’ ज्ञवालीले भनेका छन्।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको ज्ञवालीको अन्तर्वार्ताको सारसंक्षेप:

बालुवाटारमा बसेको तपाईंहरूको एकल केन्द्रीय कमिटी बैठकको निर्णय अनधिकृत र अवैध छ भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले निर्वाचन आयोगमा मान्यता नदिन मागसहित पत्राचार गरेको छ । त्यसबारे तपाईंको के प्रतिक्रिया छ?

त्यो निर्णय वैधानिक छ । हाम्रो पार्टीको विधानअनुसार नै निर्णय गरेका हौँ । पार्टीमा एकता र एकीकरणको आवश्यकतालाई ध्यानमा राखेर २० प्रतिशतसम्म मनोनयन गर्न पाउने व्यवस्था छ । साबिक एमालेबाट नेकपामा सहभागी भएको संख्या दुई सय ४१ हो । त्यो ब्युँतिएर ३ जेठ ०७५ मा फर्किएपछि त्यो संख्या पुनस्र्थापित भयो।

यो स्थितिमा एकीकरणलाई ध्यान राखेर २० प्रतिशतसम्म मनोनयन गर्न पाउने व्यवस्थाअन्तर्गत हामीले पूर्वमाओवादी केन्द्रका कामरेडहरूलाई मनोनयन गरेका हौँ । ठ्याक्कै यही विधिको व्यवस्थाअनुसार विजय सुब्बा, राधाकृष्ण मैनाली, प्रभुनारायण यादवलगायतका साथीलाई मनोनीत गरिएको थियो।

तर, अर्को पक्षले त ३ जेठअघिको केन्द्रीय कमिटीका सबै सदस्यलाई खबरै नगरीकन, बहुमत पनि नपु¥याई गुटको बैठक राखेर त्यस्तो अवैध निर्णय गरेको जिकिर गरिरहेको छ नि?

बहुमत नपुग्ने त प्रश्नै रहेन । एकीकरणअघि केपी ओलीको नेतृत्वको दुई सय ४१ सदस्यीय कमिटी हो । त्यही कमिटीका साथीहरूको छलफल भएको हो । विधानको व्यवस्था र एकीकरणको आवश्यकतालाई ध्यानमा राखेर समाहित गरिएको हो । जहाँसम्म खबरको प्रश्न हो, सबैलाई समेटेर ७ चैतका लागि हामीले केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरिसकेका छौँ ।

अदालतको फैसलाका कारण नेकपाको एकता भंग भएर तपाईंहरू र उहाँहरू दुवै पक्ष रहेको एमाले ब्युँतिएकाले अर्को एउटा पक्षलाई खबरै नगरी बैठक बसेर निर्णय गर्ने कुराले पार्टी एकतामा आँच पु¥यायो कि पु¥याएन?

हामीले यसलाई कसरी बुझ्नुपर्छ भने साबिक एमालेकै साथीहरू हिजो विभिन्न मुद्दामा भिन्न धारमा उभिनुभो । सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा हामीले आन्दोलनलाई अगाडि बढायौँ, उहाँहरू माओवादी केन्द्रको मूलतः प्रचण्डसँग जोडिएर यो सरकारलाई विस्थापित गर्ने र नेतृत्वलाई कारबाही गर्नेतिर अगाडि बढ्नुभो । यसले एक खालको भावनात्मक दूरी बढेको अवस्था थियो । यो स्थितिमा बैठकमा जानुपूर्व हामीले केही तयारी गर्नुपथ्र्यो, अस्तिको बैठक तयारीकै बैठक हो ।

तपाईंहरूको त्यही निर्णयपछि अर्को पक्ष आक्रामक प्रतिवादतर्फ अगाडि बढेको देखिन्छ । उहाँहरूले पछिल्लोपटक केन्द्रीय सदस्य र संघीय सांसदहरूको बैठक राखेर यदि तपाईंहरूले गरेको पछिल्लो निर्णय खारेज हुँदैन भने ७ गते बोलाइएको बैठकमा जाँदैनौँ भन्ने पूर्वसर्त राख्नुभएको छ नि?

बाहिर बसेर पूर्वसर्त राख्नेभन्दा पनि बैठकमै आएर छलफल गर्ने हो । विषयमै कुरा गर्ने हो भने त धेरैमा गर्न सकिन्छ । लगातार २३ फागुनपछिका यसबीचमा उहाँहरूले जुन ढंगका बैठक गरेर जे निष्कर्ष निकाल्नुभएको छ, त्यसले पार्टी एकतालाई बलियो बनाउने निष्कर्ष त निकालेको छैन । नेकपा एमालेमा गएर केपी ओलीका विरुद्ध संघर्ष गर्ने भनेर एकातिर संघर्षका कार्यक्रम बनाउने, अर्कोतिर बाहिर प्रचण्डले अहिले माधव नेपाल र झलनाथ खनालहरू योजनाअन्तर्गत जानुभएको हो, सके पार्टी कब्जा गर्नुहुन्छ, नभए विद्रोह गरेर आउनुहुन्छ भनेर भनेकोलाई उहाँहरूले केही पनि खण्डन नगर्ने । त्यसैले आशंकाको स्थिति त सिर्जना गरेकै छ। बहाना खोज्ने हो भने त पार्टी अध्यक्षलाई त उहाँहरूले साधारण सदस्यबाट समेत निकाल्नुभएको छ । खै त्यो फिर्ता भएको त हामीले सुनेका छैनौँ।

तपाईंहरूले बालुवाटारको निर्णय फिर्ता नगर्ने, उहाँहरू फिर्ता नभएसम्म बैठकमा नआउने हो भने त नेकपा दुईतिर टुक्रिएपछि ब्युँतिएको एमाले पनि फेरि विभाजनतिरै जाने भो भनेर आशंका त गर्न सकिने स्थिति भो होइन?

विभाजनतिर जाँदैन, जान दिँदैनौँ, जानुहुँदैन । किनभने अहिले सर्वोच्च अदालतको फैसलापछि नयाँ ढंगले अगाडि बढ्न जुन एउटा आधार सिर्जना भएको छ, त्यसलाई अवसरका रूपमा लिएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ । एक किसिमले हामीले नयाँ मौका प्राप्त गरेका छौँ । त्यसलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ ।

अदालतको फैसला भएको आठ दिन बितिसक्दा पनि लामो समय एउटै आन्दोलनमा रहेको, सँगै काम गरेको अध्यक्ष र वरिष्ठ नेताहरूबीचमै संवादहीनताको अवस्था छ, समानान्तर क्रियाकलाप भइरहेको छ भने फेरि अर्को विभाजनतिर गएन र एमाले?

मलाई त्यस्तो लाग्दैन र त्यस्तो ठान्दिनँ । जुन ढंगको तिक्तता थियो, त्यो तिक्तताको अलिअलि असर त हुन्छ नै । ठूलो पानी प¥यो भने बसिसकेपछि पनि फाटफुट थोपा झरिरहेका हुन्छन्, भूकम्पपछि पनि परकम्प आइरहन्छन्, त्यसैले त्यसलाई म त्यति ठूलो कुरा त ठान्दिनँ । हामी एकताबद्ध भएरै अगाडि बढ्छौँ, हाम्रो सबै प्रयास त्यतैतिर केन्द्रित छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad