छापा खबर


नेपालमा १३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखियो

नेपालमा १३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखियो

नेपालखबर
फागुन १, २०७७ शनिबार २३:४२,

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ।

यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो।

युके भेरिएन्ट भाइरसमा पनि ‘एस जिन’ देखिँदैन । त्यसैले उनीहरूमा अहिले देखिएको भाइरस पनि युके भेरिएन्ट हुन सक्ने चिकित्सकहरूको अनुमान छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए।

नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा उनीहरूको जिनोम सिक्वेन्सिङ गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले नयाँ भाइरस देखिए पनि सार्वजनिक गरेको थिएन । युके भेरिएन्ट हो वा होइन भन्ने यकिन भइनसकेका कारण सार्वजनिक नगरिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । कोरोना परीक्षणमा ‘एस जिन’ नभेटिएपछि विज्ञहरूले युके भेरिएन्टको शंका गर्छन् । त्यस्ता नमुनाको ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र नयाँ स्वरूपको भाइरस भए–नभएको छुट्याउन सकिन्छ।

नयाँ भाइरस देखिएका १३ जनाको नमुना केन्द्रीय प्रयोगशालामा थुपारिएको छ । संक्रमितहरूको ट्राभल हिस्ट्री छैन । केन्द्रीय प्रयोगशालाका अनुसार अन्य जिल्लाबाट पनि यस्ता नमुना आउने क्रम बढ्दै छ । अब हरेक प्रदेशबाट नमुना मगाएर जिनोम सिक्वेन्सिङ गरिनेछ । सरकारले दैनिक कोरोना संक्रमित घट्दै गएको बताएका वेला नयाँ प्रकारको भाइरस समुदायस्तरमा देखिएपछि चिकित्सकहरू चिन्तित देखिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad