लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ। तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ।
बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताए। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
‘संविधानको रक्षाका लागि २०४६ र २०६२(६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने।
कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । सो सन्दर्भमा वरिष्ठ नेता पौडेलले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको बताए।
‘संयुक्त आन्दोलनका लागि अहिले अलिकति बेला भएको छैन भनेको हो, कांग्रेस आन्दोलनका लागि तयार नै नभएको होइन, कुन कम्युनिस्ट कता लाग्छन् कांग्रेसलाई त्यता चासो छैन, कांग्रेसलाई संविधान र लोकतन्त्रको चासो र चिन्ता छ,’ पौडेलले भने। कांग्रेस नेता गोपालमान श्रेष्ठले मुलुकको अवस्थाअनुसार परिआए कांग्रेस संयुक्त आन्दोलनमा जाने बताए।
अहिले कम्युनिस्ट एक छन्, एउटाले अर्काको आलोचना मात्रै गरेका छन्, भोलि परिस्थिति कस्तो बन्छ, परिआए कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ,’ नेता श्रेष्ठले भने । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले अहिलेसम्म नेकपा एकै रहेकाले संयुक्त आन्दोलन हुन नसकेको बताए।
‘उहाँहरूको पार्टी एउटै छ, आन्दोलन कुन पार्टीसँग मिलेर अनि कोसँग गर्ने भन्ने कुरा आउँछ, व्यक्तिसँग मिलेर गर्ने कि पार्टीसँग अन्योल छ, त्यही कारण संयुक्त आन्दोलन हुन सकिरहेको छैन,’ कांग्रेस सहमहामन्त्री महतले भने।
बुधबारको विरोध सभालाई सम्बोधन गर्नेक्रममा दाहालले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र संघीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी कांग्रेसलाई आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरर नबस्न आग्रह गरेका थिए।
विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष नेपालसहित नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलेसमेत कांंग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका छन्।

प्रतिक्रिया