छापा खबर


दल फुटाउने अध्यादेश ल्याउने तयारीमा ओली, भेटे राष्ट्रपति

दल फुटाउने अध्यादेश ल्याउने तयारीमा ओली, भेटे राष्ट्रपति

नेपालखबर
माघ २८, २०७७ बुधबार २:१३,

प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ।

मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीलाई आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन्।

प्रधानमन्त्री ओलीले मंगलबार नै राष्ट्रपति विद्या भण्डारीसँग पनि भेट गरेका छन्।

निर्वाचन आयोगले दुवै समूहलाई आधिकारिकता नदिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशका विषयमा आन्तरिक छलफल अघि बढाएको स्रोतको दाबी छ। स्रोतका अनुसार अध्यादेश ल्याउने विषयमा नेकपा ओली समूहका नेताहरूले गृहकार्य गरिरहेका छन्।

प्रतिनिधिसभा विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको तर नेकपाको आधिकारिकता विवाद टुंग्याउन नसकेको अवस्थामा निर्वाचन आयोगले चुनाव गराउन आँट गर्ने देखिएको छैन। प्रतिनिधिसमा पुनस्र्थापना नभएमा अबको निर्वाचनमा भाग लिन नेकपालाई कानुनी रूपमै कठिनाइ छ।

निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीलाई आयोगले दाहाल–नेपाल समूहले दोस्रो पटक बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा लगेर पेस गरेको विषयलाई पनि संकेत गरेको स्रोतले बताएको छ। ‘ओलीले जबरजस्ती निर्वाचन आयोगलाई आफ्नो पक्षमा निर्णय गर्न दबाब दिएमा कि संसद् पुनस्र्थापना गर्ने दिशामा मुलुक जानेछ कि पार्टी फुटाउने अध्यादेश नै आउनेछ’, स्रोतले भन्यो।

नेकपा फुटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन आवश्यक छ। अहिलेको अवस्थामा पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था छ। अर्कोतर्फ निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने व्यवस्था छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम ५ बमोजिम नेकपाको कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने आयोगले जनाएको छ।

यस्तै अड्चनका कारण आधिकारिकताबारे निर्णय दिन निर्वाचन आयोगले सकेको छैन। प्रतिनिधिसभा विघटनसँगै नेकपा तथ्यगत रूपमा फुटे पनि कानुनी रूपमा वैधता नपाएमा दाहाल–नेपाल समूह अदालत जाने तयारी गरिरहेको छ। कुल ४४१ केन्द्रीय सदस्यमध्ये ओली समूहसँग ४० प्रतिशत केन्द्रीय सदस्य पनि नभएको र संसदीय दलमा पनि ४० प्रतिशत नपुगेपछि उनलाई पार्टी फुटाउने अध्यादेश ल्याउनुबाहेक अर्को बाटो अप्ठ्यारो देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad