बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ।
२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ।
प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र शंकास्पद व्यक्तिको कपडासमेत परीक्षणका लागि पठाइएको जानकारी दिए ।
‘शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र सस्पेक्टेड व्यक्तिका कपडासमेत परीक्षणका लागि पठाइएको छ । टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट प्रहरीले अनुसन्धान जारी राखेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सिंहले भने ।
प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको र अनुसन्धानको दायरामा राखेको समेत उनले जानकारी दिए । तर उनीहरूलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ
यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ भने घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीसमेत आइतबारदेखि नै बैतडीमा नै छन् ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ ।
विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी घरमा आमा एक्लै रहेको भन्दै साथीहरूबाट बिदा भएर स्कूलबाट घर जान भनी हिँडेकी थिइन् ।
शव अस्पतालमै
मृत भेटिएको ६ दिन बितिसक्दा पनि भट्टको शव जिल्ला अस्पताल बैतडीको शवगृहमै राखिएको छ । मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएकाले शव अस्पतालमै रहेको हो ।

प्रतिक्रिया