छापा खबर


६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे

६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे

नेपालखबर
माघ २७, २०७७ मंगलबार ०:५२,

चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो।

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ।

चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्र्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad