रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन्।
तर, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ०७५ साउन १० गतेको उक्त घटनाले सडकदेखि सदनसम्म तताएको थियो।
यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको छ। तर, घटनाको पाँच दिनसम्म पनि सुराक नभेटिएपछि निर्मला प्रकरणजस्तै होला कि भनेर आशंका उब्जिएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।
यी तीन घटनाजस्तै पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०–७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६–७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।
प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले संख्यात्मक रूपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताए। ‘०७४ देखि ७६ सम्म आइपुग्दा बलात्कार घटना केही हदसम्म कमी हुँदै आएको देखिन्छ’, प्रवक्ता कुँवरले भने, ‘बेला–बेला हुने क्रूर हत्याका घटनामा प्रहरी संवेदनशील छ।’ निर्मला प्रकरणमा प्रहरी गम्भीर रूपमा अनुसन्धानमै रहेको दाबी उनले गरे।

प्रतिक्रिया