छापा खबर


कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च!

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च!

नेपालखबर
माघ २०, २०७७ मंगलबार २:३३,

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन्।

जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी भइन्।

घरघरमा पुगेर विभिन्न खोप अभियानमा निम्तापत्र दिई खोप केन्द्रसम्म बालबालिकालाई जम्मा गर्ने गरेकी छन्त्यालले पहिलो चरणको खोपसँगै कोरोनासम्बन्धी विभिन्न जानकारी लिएर गएको बताइन्।

छन्त्यालसँगै सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि बेनीसम्म आइपुगेकी सुकमाया छन्त्याल, उमादेवी छन्त्याल, मनकुमारी छन्त्याल र सपना विकले समेत खोपको महत्वबारे र थप जानकारी लिए ।

कोभिसिल्ड पहिलो खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेलले लगाएको समाचार सुनेपछि ढुक्क भएर आएको उनीहरूको भनाइ थियो । बिनापारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घरघरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको एक दशकदेखि कार्यरत उमादेवीले बताइन् । ‘आउन–जान पाँच दिन लाग्छ, खर्च आफैं गरेर आएका छौं । यही मौकामा कोरोनाबाट जोगिन आवश्यक थप जानकारी लिएर जान्छौं,’ उनले भनिन् ।

यो खबर आजको नागरिक दैनिकमा म्याग्दीबाट हरिकृष्ण गौतमले लेखेका छन्।

उनले निःशुल्क खोपसँगै दुर्गम क्षेत्रबाट आउने स्वयंसेविकालाई स्थानीय तहले यातायात र खानबस्न सुविधा दिए सहज हुने बताइन् । ‘यातायात र खाना खर्चमै ७ हजारभन्दा धेरै खर्च भइसक्यो । तलब पाउनेले त सक्छन्, हामीलाई सरकारले पोसाक र केही सामान्य सुविधा मात्रै दिएको छ,’ उनले भनिन्। बजार झरेपछि पाइलैपिच्छे खर्च हुने भएकाले दोस्रो चरणको खोप गाउँमै दिनसमेत उनले माग गरिन्।

कोरोनाको खोपले समुदायलाई थप सुरक्षित बनाउन सकिने भन्दै उनीहरूले खर्चको व्यवस्थापन भए राहत मिल्ने बताउँदै जिम्मेवारीअनुसारको मूल्यांकन गर्नसमेत सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad