सत्तारूढ नेकपामा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन्।
पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएका खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट १० वर्षे सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका घाइते, अपांगता तथा शहीद परिवारका सदस्यलाई सम्मान तथा परिचयनपत्र दिने प्रक्रिया अघि बढाइएका छन् । उनले विभिन्न आन्दोलन तथा संघर्षका घाइते, अपांगता तथा शहीद परिवारलाई आफ्नो समूहमा पार्ने योजनासहित मन्त्रिपरिषद्बाट सम्मान तथा परिचयपत्र उपलब्ध गराउने निर्णय गराएका हुन्।
अध्यक्ष दाहालले पूर्वलडाकुको अहिलेसम्म आफूले नै नेतृत्व र संरक्षण गर्दै आएकाले अब पनि आफूले नै संरक्षण गर्न सक्ने तर ओलीले गर्न नसक्ने जनाएका थिए।
गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरूलाई सरकारका तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउन एक समिति गठन गर्ने निर्णय गरेको छ
समितिको संयोजक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई तोकिएको छ भने सदस्यहरूमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन्।
समितिले आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी हालसम्म भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वमा होमिएका शहीदका परिवार, घाइतेलगायतको अभिलेख संकलन गर्नेछ ।
प्रधानमन्त्री ओलीले गत १० माघमा बालुवाटारमा नै पूर्वलडाकुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणमा पनि पूर्वलडाकुको विषयलाई निकै प्राथमिकता दिने गरेका छन् । यसअघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्कमल दाहालको आलोचना गर्ने क्रममा कालीबहादुर खामको प्रसंग जोडेका थिए।
Shares

प्रतिक्रिया