छापा खबर


पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर, यस्ता हुन्छन् लक्षण

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर, यस्ता हुन्छन् लक्षण

नेपालखबर
माघ ७, २०७७ बुधबार २:४३,

पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ, तर अध्ययनले पुरुषमा पनि यो समस्या बढ्दै गएको देखाएको छ।

अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा.उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताए।

स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुने खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

अर्का अन्कोलोजिस्ट डा.अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताए। उनका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछन्, जसले गर्दा पुरुषको मृत्युदर उच्च हुन्छ।

६० देखि ७० वर्षका पुरुष स्तन क्यान्सरको उच्च जोखिम समूहमा पर्छन्। पुरुष स्तन क्यान्सरको कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुने गर्छ। यसबाट पीडित हुने पुरुषको यकिन तथ्याङ्क नभए पनि नेपालमा बर्सेनि करिब १० जनाको शल्यक्रिया हुँदै आएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को प्रतिवेदनअनुसार क्यान्सरका बिरामीको सङ्ख्या अहिलेकै दरमा बढ्दै जाने हो भने आगामी सन् २०३० सम्म संसारमा ७५ वर्ष उमेर पुग्नुअघि नै पाँचमध्ये एक जना
पुरुषलाई स्तन क्यान्सर हुनेछ । साथै आठमध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुनेछ।

महिला वा पुरुषको स्तनमा गाँठो आउनु स्तन क्यान्सरको सङ्केत हो। क्यान्सरविज्ञ डा.श्रेष्ठले भने, ‘स्तनमा छाम्दा गाँठो छ भने स्तन क्यान्सर हुन सक्छ । स्तनमा आएका गाँठागुँठी आफैँ छामेर थाहा पाउन सकिन्छ । प्रायः क्यान्सरमा साह्रो किसिमको गाँठो हुन्छ । क्यान्सर स्तनबाट सरेर काखीमुनि पुग्छ, त्यसैले महिलाको स्तन र काखीमुनि गाँठो भेटिनु क्यान्सरको एड्भान्स स्टेज हो।’

सुरुका चरणमा स्तन क्यान्सर थाहा पाउन कठिन हुन्छ । क्यान्सर बढेर फैलिँदै जाँदा छालामा टाँसिने, रातो हुने, घाउ हुने, दुख्ने जस्ता लक्षण देखिन्छन् । पुरुषको स्तन सानो हुने भएकाले स्तन सुन्निएको बाहिरैबाट देखिन्छ।

डा.शाहले पुरुषको स्तनमा ट्युमर आउनेबित्तिकै स्तन सुन्निएर बाहिरबाट हेर्दा नै स्तन ठूलो देखिने जानकारी दिए। उभिएर ऐनामा हेर्दा पनि स्तन सुन्निएको देख्न सकिन्छ । स्तन भुक्क उठेको वा ट्युमर बढेको छ भने क्यान्सर हो कि भन्ने शङ्का गर्न मिल्छ।

स्तन क्यान्सर भए नभएको पत्ता लगाउन विभिन्न किसिमले परीक्षण हुन्छ। मेमोग्रामले धेरै हदसम्म स्तन क्यान्सर हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ । पुरुषको स्तन सानो हुने भएकाले क्यान्सर पत्ता लगाउन मेमोग्राम गराउनुपर्दैन।

सानो टिस्यु हुने भएकाले मेमोग्राम गरिँदैन। छामेर पत्ता लगाउन सकिन्छ । छाम्दा पत्ता लागेन भने मात्र मेमोग्राम गरिन्छ । पुरुषको हकमा अल्ट्रासाउन्ड गरेर पनि स्तन क्यान्सर पत्ता लागाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad