छापा खबर


ओली सजिलै रअ प्रमुख भेट्छन्, तर लामो कसरत गर्दा पनि मोदी परराष्ट्रमन्त्रीलाई भेट दिँदैनन्, किन?

ओली सजिलै रअ प्रमुख भेट्छन्, तर लामो कसरत गर्दा पनि मोदी परराष्ट्रमन्त्रीलाई भेट दिँदैनन्, किन?

नेपालखबर
माघ ५, २०७७ सोमबार २:१९,

सीमा विवादका कारण करिब एक वर्षदेखिको संवादहीनताको अवस्थामा रहेका दुई छिमेकीबीच पछिल्ला केही महिनायता संवाद सुरु मात्र भएको छैन, उच्चस्तरीय भ्रमण आदानप्रदान पनि भएका छन्।

भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको भ्रमणबाट सुरु भएको उच्चस्तरीय भ्रमण भारतबाट सेनाप्रमुख मनोज मुकुन्द नरवाणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपाल भ्रमण गरिसकेका छन्।

नेपालका तर्फबाट सीमा विवाद सुरु भएपछि पहिलो पटक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हालै भारत भ्रमण सकेर फर्किएका छन्। लामो अन्तरपछि संवाद र भ्रमण आदानप्रदान हुनु आफैंमा सकारात्मक कुरा हो।

तथापि दुई सार्वभौम मुलुकबीच भ्रमण आदानप्रदान हुँदा ती भ्रमणले के कति प्राथमिकता पाए भन्ने कुरा कूटनीतिक रूपमा अर्थपूर्ण मानिन्छ।

तर ती भ्रमण आदानप्रदानमा नेपालले भारतीय पक्षलाई महत्व दिए पनि भारतीय पक्षले भने नेपाली पक्षलाई खासै महत्व नदिएको पाइएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत गरे पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ। जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले त्यसलाई बेवास्ता गरेको छ।

मन्त्री ज्ञवालीको भ्रमणमा भारतीय पक्षले महत्व नदिनुले त्यो कुरालाई पुष्टि गरेको छ। भारतीय पक्षले नेपाली प्रतिनिधि मण्डलले उठाएका सीमा विवादलगायत विषयलाई पनि संयुक्त छलफलको विषय बनाएको छैन। जब कि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण सीमा विवाद नै हो र पछिल्ला भ्रमण र संवादले भारतीय पक्ष नेपालसँग सीमाविवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो।

कूटनीतिक क्षेत्रका जानकारहरू सरकारकै कारण यो भ्रमण भारतको प्राथमिकतामा नपरेको बताउँछन्। भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई बालुवाटारमा स्वागत गरेपछि यस्तो अवस्था आएको बताउँछन्।

‘प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटले नेपाल एउटा मार्गचित्रमा गइसकेको छ। कूटनीतिमा मर्यादाको अर्थ हुन्छ। नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउँछ भने राजनीतिक र कूटनीतिक हिसाबले किन दुःख गर्ने भन्नेमा भारत गएको देखिन्छ,’ उपाध्यायले भने।

त्यस्तै संसद् विघटन गरेर काम चलाऊ सरकार भएको बेला नेपालबाट भ्रमण भएकाले पनि भ्रमणलाई भारतले कम महत्व दिएको उनको भनाइ छ। अहिलेको यो अवस्था प्रारम्भिक मात्र भएको बताउँदै उनले रअ प्रमुखसँग भेटेपछिको परिणाम अझै हेर्न बाँकी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad