छापा खबर


नेकपाका दुबै समूहको एकैदिन बैठक, फरक-फरक तयारी

नेकपाका दुबै समूहको एकैदिन बैठक, फरक-फरक तयारी

नेपालखबर
माघ २, २०७७ शुक्रबार १:२६,

नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे।

नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ। बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए। ओली समूहले बालुवाटारमा र दाहाल–नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए। ओली समूहका सदस्यले नेपाल–दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन्। त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ।

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन्। ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीभित्र गहिरिएर छलफल भएको बताएका छन्।

‘मूलतः सरकारले निर्वाचन घोषणा गरिसकेकाले त्यसमा केन्द्रित हुने विषयमा छलफल भएको छ, काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यले पछिल्लो अवस्थाबारे धारणा राख्नुभयो,’ पौडेलले भने। देशभरबाट पार्टीको अवस्थाबारे जानकारी लिँदा बहुसंख्यक कार्यकर्ता आफूहरूतिर रहेको पाइएको पनि पौडेलले सुनाए।

स्थायी कमिटी सदस्यको बिफ्रिङ सुनेपछि अध्यक्ष ओलीले सबै नेताहरूलाई ढुक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे। ओलीले सबै तहबाट निर्वाचनको वातावरण बनाउनुपर्ने बताउँदै हरेक निर्वाचन क्षेत्रमा निर्वाचनसम्बन्धी कार्यक्रम कार्ययोजना बनाउन सदस्यहरूलाई आग्रह गरे।

बैठकमा सुवास नेम्वाङ, केशव बडाल, महासचिव विष्णु पौडेललगायतले पार्टीको अवस्थाबारे धारणा राखे। नेम्वाङले चाहिँ सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे पनि धारणा राखेको स्रोतले बताएको छ। उनले अहिलेको मुद्दालाई पूर्ण इजलासमा लैजाने कि संवैधानिक इजलासमै बहस गर्ने भन्नेबारे टुंगो नभइसकेकाले मुद्दामा बहस सुरु नभएको बताए।

दाहाल–नेपाल समूहले भने आन्दोलनका लागि जिल्ला–जिल्लामा कमान्डर तोकेर जाने रणनीति बनाएको छ। स्थायी कमिटी बैठकमा आन्दोलनका लागि विगतमा जिम्मेवारी नपाएका र अन्यायमा परेका नेताहरूलाई केन्द्रीय सदस्य बराबरको हैसियत दिएर कमान्डर तोक्ने विषयमा छलफल भए पनि त्यसले मूर्त रूप भने लिएन।

बैठकले आन्दोलनलाई काठमाडौंमा प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको छ। काठमाडौंमा विरोध प्रदर्शनलाई व्यापक बनाउने निर्णय भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। ‘१४ गतेपछिको विरोध प्रदर्शनमा ठूलो उभार आएन भन्ने कुरा उठेको रहेछ, आन्दोलनमा शिथिलता आएको हो कि भन्ने परेको रहेछ। अबको विरोध कार्यक्रम थप प्रभावकारी हुनेछ,’ स्थायी कमिटी सदस्य पाण्डेले भने। उनका अनुसार अबको आन्दोलन पूर्ण तयारीका साथ अघि बढ्नेछ।

बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गरिएको बताए। उनले भावी आन्दोलनबारे बैठकमा छलफल भएको जानकारी दिए।

‘यो आन्दोलन नेकपाको मात्रै नभएर साझा आन्दोलनका रूपमा अघि बढेको हामीले मूल्यांकन गरेका छौं। यो आन्दोलन अझै अघि बढ्छ। आमनागरिक, न्यायपालिकादेखि बुद्धिजीवीसम्मको सरोकारको विषय हो,’ पन्तले भने। उनका अनुसार आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्र्याकमा ल्याएर मात्रै विश्राम लिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad