छापा खबर


ओलीले पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेपछि वामदेव फेरि तरंगित

ओलीले पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेपछि वामदेव फेरि तरंगित

नेपालखबर
पुस ५, २०७७ आइतबार १:१२,

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन्।

ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रबार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित निवासमा सुझाब लिएका छन्।

सहभागीहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई मान्य हुने गरी प्याकेज सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ओलीको प्रस्तावबाट गौतम फेरि एकपटक तरंगित भएका छन् । यद्यपि, यसअघि पनि पटक–पटक धोका भएको भन्दै उनीनिकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन्।

प्रधानमन्त्री ओलीले विभिन्न नेतामार्फत गौतमलाई प्रस्ताव गरेकाले सो विषयमा छलफल भइरहेको जानकारी दिए। ‘एक व्यक्ति एक पद र विधि र पद्धतिको एजेन्डामा सहमति जनाएर अहिले माधव कमरेडलाई अध्यक्ष बनाउँदा माधव र प्रचण्ड कमरेड समूह मात्रै खुसी हुने अवस्था छ । तर, त्यसो गर्दा प्रधानमन्त्रीको विचार समूह खुसी नहुने र सम्झौता पनि नगर्ने अवस्था बन्यो, जनमत र चुनावी घोषणापत्रलाई ख्याल गर्दै प्रधानमन्त्रीले सरकारको नेतृत्व छाड्ने कुरा पनि भएन,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले भने, ‘यो अवस्थामा केपी र माधव कमरेडका दोस्रो तहका केही नेताहरूले वामदेव कमरेडलाई अध्यक्ष बनाउँदा समस्या समाधान हुन सक्छ भन्ने प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक मानेर अगाडि बढाउन निर्देशन दिनुभएको सन्देश आएको छ । त्यसैले उहाँ (गौतम)ले हामीलाई छलफलका लागि बोलाउनुभएको थियो, उहाँले ती कुराहरू हामीलाई जानकारी गराउनुभएको छ।’

गौतमनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले पनि गौतमलाई अध्यक्षको अफर आएको पुष्टि गर्दै प्रचण्ड र नेपालसहित सचिवालयका पाँचै नेतासँग समन्वय गर्न र पार्टी बैठकबाटै प्रस्तावमा निर्णय गराउन सुझाब दिएको बताए।

‘पहिलो कुरा, प्रधानमन्त्रीले आफ्नो कमजोरी स्विकार्नुपर्छ । त्यसपछि मात्र अरू प्रक्रिया अगाडि बढ्ने हो । वामदेव कमरेड एकता बिग्रिन्छ कि भन्ने विषयमा सजग हुनुहुन्छ । अहिलेसम्म त्यही (प्रचण्ड–नेपाल) टिममै हुनुहुन्छ । हामीले त्यहाँभित्र सबैलाई संयमता अपनाऔँ, पार्टी बैठकमै सबै छलफल गरौँं, बाहिरभन्दा पार्टी बैठकले नै सबै कुराको निक्र्योल गर्छ भन्ने सुझाब दिएका छौँ,’ बाँस्कोटाले भने, ‘अहिले अध्यक्ष को हुनेभन्दा पनि संकट कसले सिर्जना ग¥यो भन्ने विषय महत्वपूर्ण हो । अहिलेको संकट कमरेड केपी र प्रचण्डले सिर्जना गर्नुभएकाले निवारण पनि उहाँहरूले नै गर्ने हो । दुवै बसेर कमजोरी सच्याउनेतिर जानुपर्छ । व्यक्ति फेरेर मात्रै त के हुन्छ र?’

उता माधव नेपालनिकट स्रोतका अनुसार महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाललाई पनि भेटेर अध्यक्षका लागि तयार रहन प्रस्ताव गरेका थिए ।

तर, पछिल्लोपटक गौतमलाई अध्यक्ष बनाउने विकल्पमा महासचिव पौडेल, स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, पोखरेल, योगेश भट्टराईलगायतले छलफल चलाएका छन् । उनीहरूबीच प्याकेज मस्यौदा बनाउनेसम्मका विषयमा शनिबार साँझ महासचिव पौडेलनिवास भैँसेपाटीमा लामो छलफलसमेत चलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad