ad ad

छापा खबर


यस वर्ष एसइई हुन्छ कि हुँदैन? सरकारी अधिकारी नै अन्योलमा

यस वर्ष एसइई हुन्छ कि हुँदैन? सरकारी अधिकारी नै अन्योलमा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १:४,

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन्।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, ‘हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ।’

यस वर्ष (२०७७ साल) को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने जिम्मा दिइएको थियो ।
मन्त्रालयले यसबीचमा शिक्षाविद् र प्रदेशका सचिवहरूसँग अन्तरक्रिया गरेको छ।

अन्तरक्रियामा गतवर्ष जथाभावी अङ्क दिइएकाले विद्यालयलाई मूल्याङ्कनको जिम्मा दिन नमिल्ने, विद्यालयलाई नै जिम्मेवारी दिइसकेकाले अब यही विधिलाई निरन्तरता दिइनुपर्ने, कानुनतः माध्यमिक तहसम्मको जिम्मेवारी प्रदेश सरकारको हुने भएकाले सोही अनुरूप अगाडि बढ्नुपर्ने लगायतका मिश्रित सुझाव आएका छन्। त्यसैले मन्त्रालय पनि यसै गर्नुपर्छ भन्ने टुङ्गोमा पुग्न सकेको छैन।

बर्सेनि असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो । यस पटक मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन। रापबोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले कसले परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा छिटो टुङ्ग्याइदिन आफूहरूले बोर्डलाई पत्रमार्फत आग्रह गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .