छापा खबर


आफूमाथि भएको अभद्र व्यवहारप्रति नेता सुरेन्द्र पाण्डेले दिए कडा प्रतिक्रिया

 आफूमाथि भएको अभद्र व्यवहारप्रति नेता सुरेन्द्र पाण्डेले दिए कडा प्रतिक्रिया

नेपालखबर
मंसिर ७, २०७७ आइतबार २:०,

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः जिल्ला-जिल्लामा विस्तार हुँदै गएको छ।

ओली र प्रचण्डले १३ मंसिरमा डाकिएको केन्द्रीय सचिवालय बैठकमा आरोप–प्रत्यारोपसहितको बेग्ला–बेग्लै राजनीतिक दस्ताबेजमा छलफलको तयारी गरिरहेका वेला केन्द्रीय विवाद जिल्ला–जिल्लामा विस्तार हुँदै गएको हो।

दुवै समूहका नेता–कार्यकर्ता अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, बेग्ला–बेग्लै भेला गरेर गुट विस्तार र सुदृढ गर्ने तहमा सक्रिय बनेका छन् । चितवनको वीरेन्द्रनगरमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहारको प्रयास भएको छ भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय खेलाडी भेला गरेको छ।

चितवनमा नेकपा राप्ती नगर कमिटीले आयोजना गरेको बैठकमा ओली समूहका कार्यकर्ताले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेको सम्बोधन बिथोल्दै अभद्र व्यवहार गर्ने प्रयास गरेका छन्।

चितवन– १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पाण्डेले सम्बोधन गरिरहेका वेला ओली समूहका करिब एक दर्जन कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आफूप्रतिको अभद्र व्यवहारप्रति नेता पाण्डेको प्रतिक्रिया यस्तो छ:

राप्ती नगरपालिकामा पार्टीको नगर कमिटी बैठकमा अतिथिका रूपमा गएको थिएँ । मैले त्यहाँ पार्टीभित्र विभिन्न प्रतिष्ठानका नाममा गुटहरू चलेका छन्, यसलाई रोक्नुपर्छ भन्ने आवाज पहिलादेखि थियो । दुई अध्यक्ष, सचिवालयका अन्य कमरेडहरू पनि सहमत हुनुभयो । त्यसैअनुसार हामीले विवाद समाधान गर्ने कार्यदलमार्फत प्रतिष्ठानमार्फत हुने गुटगत गतिविधि रोक्ने प्रस्ताव गर्‍यौँ । फेरि दुई अध्यक्षले सहमति गर्नुभयो।

सचिवालयमा सहमति भयो र स्थायी कमिटीबाट पारित नै भयो । पछि २९ भदौमा सर्कुलर नै जारी भयो । सर्कुलरमै हामीले पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन् । यीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् र गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ भन्ने निष्कर्ष पठाएका छौँ । पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने भनेकै छौँ ।

प्रतिष्ठानमार्फत कुनै पनि गुटका गतिविधि गर्नुहुँदैन भन्ने पार्टीको औपचारिक निर्णय छ र यसमा सबैको सहमति छ भन्ने पृष्ठभूमिसहित व्याख्या गर्दै थिएँ । त्यहीवेला केही केटाहरू जुरुक्क उठे । नाराबाजी गर्न थाले । राजनेता केपी ओली जिन्दावाद भन्न थाले, जबज जिन्दावाद भने । मदन भण्डारी फाउन्डेसन जिन्दावाद भनेर पनि नारा लगाए । बैठककक्षमा प्रवेश गर्दा मेयरसँगै केही ती केटा आएका थिए । तीमध्ये केही चिनेका थिए र केही नचिनेका।

यसरी नारा लगाउनेमा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया हुन् । सुरजका ससुरा दाबा लामा बागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री छन् । मन्त्रीका ज्वाइँ आफैँ नाराबाजीमा उत्रे । मन्त्री दाबाकै पिए प्रकाश कालाखेती पनि त्यहाँ थिए । केदार आचार्य पनि थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न थिए भन्ने छ । उनीहरू मदन भण्डारी फाउन्डेसनसँग जोडिएका होलान् ।

उनीहरूका गतिविधि सुरुदेखि नै स्वाभाविक थिएनन् । मेयरलाई आशन ग्रहण गराउँदा ताली पिट्थे । मेयर बोल्दा पनि ताली पिट्थे । तर, अरू कोही बोल्दा पनि चासो थिएन । पार्टी कमिटीको बैठकमा कमिटीमै नरहेका मान्छे पसेका थिए । हलको घटनाक्रम हेर्दा घटना सुनियोजित रूपमा नै भएको देखिन्छ । यद्यपि, यस्तो योजना कहाँ र कसले बनायो थाहा भएन।

ती केटाहरूले बीचबीचमा कानेखुसी पनि गरेका थिए भन्ने अरू साथीहरूको कुरा थियो । म अर्को कार्यक्रममा जानुपर्ने भएकाले छोटो नै बोलेको थिएँ, सकिने वेलातिर नाराबाजी गरेका हुन् । यो बिल्कुलै अराजनीतिक प्रवृत्ति हो । गैरराजनीतिक चरित्र देखाइयो । यस्तो प्रवृत्तिले असफलता मात्रै भोग्ने हो । जसले प्रश्रय दिन्छ ऊ पनि सिद्धिन्छ । जंगलमा आगो लगाएर रूख जोगाउन सकिन्न । खराब सोचले आफैँलाई सक्छ । यस विषयमा पार्टीभित्र पनि छलफल होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad