भीमफेदी–कुलेखानी सुरुङ मार्गका नाममा नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका सर्वसाधारण र विभिन्न संघसंस्थाबाट सेयर उठाएको करिब ३६ करोड जोखिममा परेको छ।
विदेशमा मजदुरी गरेर जोडेको रकमदेखि घरमा भएका बाख्राका पाठासम्म बेचेर स्थानीयले गच्छेअनुसार दश हजारदेखि दश लाखसम्म सेयर हालेका थिए । तर, विकासको असाधारण सपना देखाएर गरिबको पसिनासमेत लुटिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा हेटौँडाबाट सुदीप सिवाकोटीले लेखेका छन्।
सरकारले ६ जेठ ०७० मा सुरुङ मार्ग निर्माणका लागि पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएको थियो । त्यतिवेलैदेखि स्थानीयबाट सेयर रकम उठाउन थालेको कम्पनीले अहिलेसम्म ३५ करोड ७६ लाख संकलन गरिसकेको छ । भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाका अधिकांश सर्वसाधारणले सुरुङ मार्गमा सेयर हालेका छन् । तिनैमध्येका एक हुन्– भीमफेदी– ६ का नवराज राना ।
करिब आठ वर्षअघि दुबईको प्रचण्ड गर्मीमा मजदुरी गरिरहेका वेला श्रीमतीले फोन गरेर घरछेउबाटै सुरुङ मार्ग बन्ने खबर सुनाउँदा नवराज निकै हौसिएका थिए । निर्माण कम्पनीले स्थानीयलाई पनि सेयर दिने कुराले त उनलाई झन् पुलकित बनायो, मनमनै घरअगाडिको सुरुङबाट गाडी कुदेको देख्न थाले । ०७० मा उनले श्रीमतीको बैंक खातामा २० हजार रुपैयाँ पठाइदिए र फोन गरेर भने– यो पैसा अन्त खर्च नगर्नू, सुरुङ मार्गमा सेयर लगानी गर्नू ।
‘दुबईको ठुल्ठूला सडक र सुरुङ मार्ग देखेर हाम्रो गाउँमा पनि त्यस्तै विकास हुन्छ होला भन्ने सोचेर लगानी गरेँ, मिहिनेतको रकम माटोमा मिल्यो,’ नवराज रानाले भने, ‘हामीले अर्काको भूमिमा पसिना बनाएर लगानी गरेको रकम कम्पनीका सञ्चालकहरूले लुटे ।’
पूर्वाधार विकास कम्पनीले सरकारबाट अनुमतिपत्र लिनु अघिदेखि नै भीमफेदी–कुलेखानी सुरुङ मार्ग बन्ने र त्यसमा जनतालाई पनि सेयर बाँडिने भन्दै पैसा उठाउने वातावरण बनाउन थालेको थियो, जसबाट भीमफेदी, कुलेखानी र सिस्नेरीका जनता निकै उत्साही पनि भइरहेका थिए । ०७० पछि धमाधम सेयर हाल्न थाले ।
हेटौँडा उपमहानगर– २ का राकेश शर्माले त ०७१ मा जग्गा बेचेर तीन लाख पाँच हजार लगानी गरेका छन् । सुरुङ मार्ग निर्माणका लागि सेयर आह्वान गरेको थाहा पाएपछि उनले हौसिएर हेटौँडामै रहेको नौ धुर जग्गा बेचेर आफ्नो नाममा दुई लाख पाँच हजार र छोरीका नाममा एक लाखको सेयर किनेका थिए । ‘सुरुङ मार्ग निर्माणपछि राम्रो लाभांश पाइने र आफ्नो लगानीले मुलुकको विकासमा पनि टेवा पुग्ने सोच बनाएर लगानी गरेको हुँ । त्यसताका मसँग पैसा थिएन, जग्गा बेचेर सेयर किनेँ,’ उनले भने।
‘सुरुङ मार्ग निर्माणपछि राम्रो लाभांश पाइने र आफ्नो लगानीले मुलुकको विकासमा पनि टेवा पुग्ने सोच बनाएर लगानी गरेको हुँ । त्यसताका मसँग पैसा थिएन, जग्गा बेचेर सेयर किनेँ,’ राकेश शर्माले भने
कम्पनीले तोकेको समयमा सुरुङ मार्ग निर्माण प्रक्रिया अघि नबढाएपछि लगानी ढुब्ने डरले आफूले विभिन्न सरकारी निकायमा रकम फिर्ताको माग गर्दै उजुरी दिए पनि सुनुवाइ नभएको शर्माले बताए।
गाउँका अधिकांशलाई सुरुङ मार्गमा लगानी गर्न उत्प्रेरित गरेका इन्द्रसरोवर गाउँपालिका– २ कुलेखानीका देवकृष्ण पुडासैनी अहिले आफूलाई धिक्कारिरहेका छन् । तत्कालीन संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई लगानी गर्न अनुरोध गरेपछि उनकै कुरा सुनेर आफूले पनि गाउँलेलाई लगानी गर्न हौस्याएको उनी बताउँछन् । आफूले पनि जेनतेन गरेर एक लाखको सेयर हाले।
‘मसँग पैसा थिएन, घरमा भएको एक राँगो, एक बोका र एक पाठो बेचेर एक लाख लगानी गरेँ,’ पुडासैनीले भने, ‘दुःखले जोडेका वस्तुभाउ बेचेर लगानी गरेकोमा अहिले पछुताइरहेको छु।’
०७० को निर्वाचनको मुखमा फास्ट ट्र्याक निर्माणको ठूलो चर्चा चलेको थियो । ‘फास्ट ट्र्याक निर्माणपछि हाम्रो क्षेत्र ओझेलमा पर्ने भएकाले नयाँ सडक योजना सुरुङ मार्ग निर्माणमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै गाउँ डुलेँ । कम्पनीको सञ्चालक समितिले मलाई सरोकार समितिमा पनि राख्यो । त्यसपछि लगानी उठाउन जागरुक भएँ,’ पुडासैनीले भने।
निजी क्षेत्रको लगानीमा हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङ मार्गको निर्माण सन् २०१६ मै सक्ने अनुमति लिएको नेपाल पूर्वाधार विकास कम्पनीले सन् २०२० सम्म पनि काम सुरु गरेन, जनताबाट उठाएको ३६ करोडमध्ये तीन करोड मात्र बैंकमा छ।
अर्कोतिर सेयर लगानी गरेका स्थानीयले नौ वर्ष बितिसक्दा कुनै प्रतिफल पाएका छैनन् । बरु उनीहरूको लगानीसमेत संकटमा परेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकासहितका स्थानीयको करोडौँ रुपैयाँ काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माणको नाममा फसेको छ।
प्रतिक्रिया