कसैले नेकपाकाे विवाद अब मत्थर हुने अनुमान गरेका छन्। कतिपयले झन् जटिल डिलतिर होमिएको अड्कल काटेका छन्। छिनछिनमा हुने रडाकोका कारण बाहिरबाट हेर्दा नेकपा चर्किंदै/टालिँदै गरेको छ।
यसपालि अलि ठूलै चिरा परेको छ। टाल्न हम्मे पर्ने गरी। यही ढाँचा र संरचनामा विवाद साम्य भइगए पनि पुनः बल्झिने जोखिम विगतका नजिरले देखाइसकेका छन्। त्यही भएर मध्यवर्ती नेताहरूको सुझाव छ- ‘जुन तहको बैठक बेलाएर हुन्छ, विवाद निमिट्यान्न पारौं। बरु संरचना भत्काऔं, एकता मजबुत पारौं।’
तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ भनेर अखण्ड भण्डारीले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन्–
उपाय १ : जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग
सचिवालय भंग गर्ने महासचिवको प्रस्तावसँगै नेताहरू यसको बहसमा उत्रिएका छन्। ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं। दुई अध्यक्षलाई मिलेर चल्ने वातावरण दिऔं। र, चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं।’
महासचिव विष्णु पौडेलले भनेझैं सचिवालय झगडाको मुख्य थलो हो। तर, नेकपाको लफडा पछिल्लो समय अल्पमतरबहुमत केन्द्रित छ। जुनसुकै कमिटीमा पनि यो रोग छिर्दैन भन्न सकिन्न। हुन पनि नेकपा पहिलाको संसद्जस्तै बन्न पुगेको छ। त्यतिबेला गठबन्धन मिलाएर सरकार बनाइन्थ्यो। चलुन्जेल चलाइन्थ्यो।
नत्र ढल्थ्यो। सांसद किनिन्थ्यो। पार्टी फुटाइन्थ्यो। सकेको हतकन्डा अपनाएर अर्को सरकार बनाइन्थ्यो। त्यसको भविष्य गन्ती त्यही दिन सुरु हुन्थ्यो। नेकपा अहिले ठ्याक्कै त्यही हालतमा छ। यसमा कहिले कता अल्पमत, कहिले कता बहुमतको गणित चल्न थाल्यो। आफूलाई दर्बिलो बनाइराख्न सादा कागजमा हस्ताक्षर गराएर कायल बनाउनेदेखि आफैंले टिकट दिएर बनाएका सांसद किन्नेसम्मको अवस्था आइसक्यो। यसभन्दा दुर्गन्धित रूप के हुन्छ?
एमाले र एमाओवादी एकीकरणका क्रममा एकताको महाधिवेशन पहिलासम्मलाई दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो। यस आधारमा हेर्दा अन्य कमिटीका गन्थनमन्थन, बहुमत-अल्पमतका कुरा बरालिने विषय मात्र हुन्। पार्टीभित्रै पार्टी छन्, तिनका पनि गुट–उपगुट छन्।
तिनमा अनेक आकांक्षा, तृष्णा र भोक छन्। तिनको व्यवस्थापनका नाममा कहिले कता पल्ला भारी हुने गरेको छ, कहिले कता।
यो रोगबाट मुक्तिको उपाय नै दुई अध्यक्षले मिलेर पार्टी चलाउने, बाँकी विघटन गर्ने हो। समाधान चाहने नेताहरूको राय यही छ।
उपाय २ : सम्पूर्ण भंग, महाधिवेशन समिति निर्माण
दुई अध्यक्ष मिलेर पार्टी चलाउन नसक्ने हो भने दोस्रो उपाय अपनाउन सकिन्छ– सबै भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने। त्यसमा एकता महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न नचाहने ९वर्तमान दुई अध्यक्षबाहेक० शीर्ष नेतालाई संयोजक बनाउने। उदाहरणका लागि झलनाथ खनाल हुन सक्छन्। उनी पुनः अध्यक्ष बन्ने चाहनामा देखिँदैनन्। उनको खास गुट पनि छैन। यो उदाहरण मात्र हो, अरू जो कोही हुन सक्छन्।
झन्डै दुई तिहाइ बहुमतप्राप्त नेकपा झगडाकै कारण फुट्न मात्र लागेको छैन, जनमतसमेत गुमाउँदै गएको छ। यो परिस्थितिामा अघि बढ्ने दुई बाटा छन्– १. ध्वंसात्मक अर्थात् एक पक्षले अर्कालाई गालीगलौज गर्ने। यसरी नै चलिरहने, नचलेको दिन पार्टी फुटाउने।
२. रचनात्मक अर्थात् खिया लागेका नटबल्टु सफा गर्ने, एकता झन् कसिलो बनाउने। सत्तारूढ दलले सोच्ने विषय यो छ कि- कम्युनिस्ट फुटोस् र घ्वाप्प खान पाइन्छ भन्दै धुप हालेर बस्ने धेरै छन्। तिनैलाई उनीहरूले मलजल पुर्याइरहेका छन्। दलभित्रका छिद्र पुर्दै जानुपर्नेमा, थप्दै लगेका छन्।
एकताका यतिका दिनसम्म आइपुग्दा गल्ती दुवै नेताबाट भए होलान्। अहम् दुवैमै होलान्। तर, दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण गल्ती थिएन। गल्ती त फेरि फुटाउँदा हुनेछ। दुवैले अलिकति अहम् त्याग्दा वा फराकिलो छाती बनाउँदा नेकपा जीवित रहन सक्छ।
त्यसका लागि उत्तम समाधान माथिका ‘दुई उपाय’ हुन सक्छन् कि?

प्रतिक्रिया