प्रतिरोधात्मक क्षमता बलियो भएकालाई कोराना संक्रमण हतपती हुँदैन भनिन्छ। तर, नेपालको तथ्य फरक छ।
यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा भएको छ। बिहीबारसम्म तिनको संख्या ५३ हजार २ सय ६९ पुगेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्।
त्यस्तै, ३१ देखि ४० वर्ष उमेरका ४९ हजार ७ सय २४ संक्रमित छन्। ४१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका संक्रमित २९ हजार ९ सय ९२ छन्। यो तथ्यांकले मुख्यतः कामकाजमा निस्कने जनसंख्या बढी संक्रमित भएको देखाउँछ।
बालबालिका र वृद्धवृद्धामा भने कम संक्रमण देखिएको छ। नेपालमा मात्र नभई अन्यत्र पनि प्रायः यस्तै छ। ‘मैले अध्ययन गर्दा युवाहरू बढी संक्रमित भएको नेपालमा मात्रै होइन’, भाइरलोजिस्ट डा.बाबुराम मरासिनी भन्छन्, ‘अन्य मुलुकमा पनि युवा नै बढी संक्रमित छन्।’
डा.मरासिनीका अनुसार युवा जनशक्ति कामका सिलसिलामा बाहिर बढी निस्किने भएकाले उनीहरू धेरै संक्रमित भएका हुन्। ‘अहिले कामकाजी युवा नै छन्’, उनी भन्छन्, ‘उनीहरू नै बढी बाहिर निस्किन्छन्। हाम्रा काम गर्ने ठाउँ प्रायः असुरक्षित छन्। यस्तोमा युवा न वृद्ध सबैलाई उत्तिकै जोखिम हुन्छ। भाइरसको लोड कम हुँदा खासै लक्षण नदेखिन सक्छ। भाइरसको लोड बढी भए लक्षण देखिन्छ।’
सेवा दिने ठाउँमा सुरक्षा नहुँदा संक्रमण बढी फैलिएको उनको ठम्याइ छ। ‘प्रायः कार्यालय साँघुरा कोठा, क्रस भेन्टिलेसन नभएका हुन्छन्’, उनी भन्छन्, ‘यस्तो ठाउँमा संक्रमणको जोखिम हुन्छ। जहाँ काम गर्ने युवा नै हुन्छन्। त्यसैले संक्रमण पनि बढी युवामा देखिएको हो।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन अबको मुख्य चुनौती नै युवा जनशक्ति भएको बताउँछन्। ‘हिजो कामको सिलसिलामा बाहिरी देश वा भारतबाट आउने पनि युवा थिए। यहाँ पनि कामकाजी सबै युवा छन्’, डा. पुन भन्छन्, ‘बाहिर हिँडडुल युवा नै गर्छन्। त्यसैले युवामा बढी संक्रमण देखियो। अब अहिले युवाले घरमा पनि सुरक्षा नअपनाए परिवारमा संक्रमण फैलाउने युवै हुनेछन्।’
युवा बढी संक्रमित हुनुमा अर्को कारण भाइरस केही होइन भन्ने सोच रहेको डा. पुनको ठम्याइ छ। ‘युवाहरूले बढी हेलचेक्र्याइँ गरेको देखिन्छ’, उनी भन्छन्, ‘मलाई केही हुन्न भनेर मास्क नलगाई हिँडेको पाइन्छ। कतिपय त पोजिटिभ आएपछि समेत मलाई केही भएको छैन भनेर हिँडिरहेका पाइन्छन्। यो ठूलो समस्या हो। आईसीयू वा भेन्टिलेटरमा जाने÷नजाने युवाकै हातमा छ।’
Shares

प्रतिक्रिया