छापा खबर


जस्तोसुकै परिस्थिति सामना गर्ने रणनीति बनाउन ओली-प्रचण्ड सक्रिय

 जस्तोसुकै परिस्थिति सामना गर्ने रणनीति बनाउन ओली-प्रचण्ड सक्रिय

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार २३:३४,

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल तिक्त र आरोप–प्रत्यारोपमै सीमित हुँदै गएपछि नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ।

एक–अर्काप्रति अविश्वास र एक–अर्काविरुद्धका गतिविधिले ओली र प्रचण्डबीच लगातार दूरी बढ्दै गएको छ, जसलाई नेकपाका नेताहरूले ‘चिन्ताजनक’ भनेका छन् ।

४ कात्तिकबाट सुरु भएको पछिल्लो तिक्तताको शृंखला दुई हप्ताकै बीचमा उत्कर्षमा पुगेको छ । बिहीबार बालुवाटारको करिब एक घन्टाको संवाद पनि तिक्तताकै बीचमा निष्कर्षविहीन भएपछि दुवै नेता जस्तोसुकै परिस्थिति सामना गर्ने मनस्थितिका साथ रणनीति बनाउन सक्रिय बनेका छन् ।

नेकपा–विवादमा प्रचण्ड–माधव नेपाल समूह एक ठाउँ हुँदा ओली दबाबमा छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

ओलीले आफूलाई हटाउन प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराउनेसम्मको तयारी गरेको भन्दै त्यस्तो तानाबानालाई जुनसुकै प्रयासबाट भए पनि चकनाचुर पार्ने चुनौती दिएका छन् । माग्दै नमागेको राजीनामाको विषय उठाएर ओलीले गलत प्रचार गरेको भन्दै प्रचण्डले खण्डन गरेका छन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपालसहित बहुमत नेताहरूको समर्थनमा केन्द्रीय सचिवालय बैठक बोलाएर अघि बढ्नेसम्मको तयारी गरिरहेका छन् । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको प्रयास र भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमणप्रति प्रचण्ड–नेपाल समूहको आशंकासँगै चर्किँदै गएको नेकपाको आन्तरिक विवाद झन्झन् गहिरिँदै गएको छ।

पाँच दिनपछि बिहीबारको भेटमा प्रचण्डले अहिलेसम्म उठेका सबै विषय पार्टी सचिवालय बैठकमै छलफल गर्नुपर्नेमा जोड दिँदै ओलीमाथि थप दबाब सिर्जना गर्ने कोसिस गरेका छन्।

तर, ओलीले भने समझदारीविना गरिने छलफल गुटमा रूपान्तरण हुने भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

‘प्रचण्ड कमरेडले बिहीबार पनि सबै विषय सचिवालय बैठक बोलाएर छलफल गरौँ भन्ने पहिलेकै प्रस्ताव दोहो¥याउनुभो, तर प्रधानमन्त्री बैठक बस्न मान्नुभएन । उहाँले के काम छ त्यो बैठकको भनेपछि संवाद तिक्ततामै टुंगियो,’ दुई अध्यक्षको छलफल उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘उहाँले सबै कमिटी गुट हुन्, त्यस्तो बैठकमा म किन जाने भनिसकेपछि अब पहिला अनौपचारिक छलफल गरेर बहुमतकै भए पनि सचिवालयको औपचारिक बैठक बस्नुपर्ने बाध्यात्मक स्थिति आउने अवस्था बन्दै गएको छ।’

भेटवार्तामा प्रचण्डले बालुवाटारबाटै जुम बैठकमार्फत कार्यकर्तालाई जबजको बहस ब्युँताउन र मदन भण्डारी फाउन्डेसनलाई वडासम्म विस्तार गर्न निर्देशन दिएर प्रधानमन्त्रीले फुटको आधार निर्माण गरेको आरोप लगाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad