छापा खबर


धुलिखेलदेखि शिक्षण, पाटन र टेकु अस्पतालसम्म अब निःशुल्क उपचार हुने चौतर्फी ढोका बन्द

धुलिखेलदेखि शिक्षण, पाटन र टेकु अस्पतालसम्म अब निःशुल्क उपचार हुने चौतर्फी ढोका बन्द

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार २३:५१,

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितलाई भर्ना गर्नुअघि २० देखि ७५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ ।

अस्पतालका अनुसार सामान्य आइसोलेसन खर्च दैनिक तीन हजार पाँच सय, लक्षणसहितका संक्रमितको आइसोलेसन खर्च सात हजार पाँच सय र आइसियूमा बस्नुपर्ने संक्रमितको खर्च दैनिक १५ हजार तोकिएको छ ।

शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा.सन्तकुमार दासका अनुसार संक्रमितले भर्ना हुनुअघि १० देखि ४५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ ।

अस्पताल आफैँले गरिब पहिचान खुल्ने फारम तयार पारेकाले कसैले उपचार गर्दागर्दै खर्च सकियो वा उपचार गर्न नसक्ने अवस्था आएमा फारम भराएर निःशुल्क उपचार पनि भइरहेको उनले बताए ।

धुलिखेल अस्पतालले २ कात्तिकदेखि लागू हुने गरी ५० हजारदेखि दुई लाख रुपैयाँसम्म धरौटी जम्मा गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, त्यो सूचना बिरामीको हितमा नभएको भन्दै धरौटी राख्नुपर्ने व्यवस्था खारेज गरिएको डिन डा.राजेन्द्र कोजूले बताए ।

वीर अस्पतालमा भने कोरोना संक्रमितसँग छुट्टै धरौटी रकम लिने गरिएको छैन । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीका अनुसार वर्षौँदेखि आइसियूमा राख्ने बिरामीसँग १० हजार र पेइङ बेडमा बस्ने बिरामीबाट एक हजार धरौटी लिइँदै आएको छ, जुन अहिले पनि जारी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सिभिल सर्भिस अस्पतालले पनि संक्रमितको उपचार गर्दा अग्रिम धरौटी नलिने गरेको जनाएको छ । निजामती कर्मचारी अस्पताल संघका अध्यक्ष सन्तोष धिमालका अनुसार कोभिडभन्दा अघिदेखि नै अस्पतालले एकदेखि दुई हजार रुपैयाँ धरौटी लिने गरेको थियो, त्यो अहिले पनि जारी छ ।

‘कोभिडका लागि भनेर अस्पतालले सूचना जारी गरी धरौटी लिएको छैन,’ उनले भने । केही समयअघि क्यान्टिनमा खाना खानुपूर्व पैसा जम्मा गनुपर्ने नियम कोरोनाका बिरामीको नभएर कुरुवाहरूको भएको र त्योसमेत अहिले रोकिएको धिमालले बताए ।

सरकारले कोरोना संक्रमितको दैनिक उपचार खर्च तीन हजार पाँच सयदेखि १५ हजारसम्म लिन पाउने व्यवस्था गरेको छ । तर, निजी अस्पतालहरूले भने सरकारी निर्णय कार्यान्वयन गरेका छैनन्, मनलाग्दी बिल बनाउने गरेका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .