राजनीति


नेकपामा अर्को तरंग, कर्णालीका कारण भदौमा गरिएकाे ‘युद्धविराम’ भंग

नेकपामा अर्को तरंग, कर्णालीका कारण भदौमा गरिएकाे ‘युद्धविराम’ भंग

मणि दाहाल
कात्तिक १६, २०७७ आइतबार १७:४५,

भदौको अन्तिम साता बसेको नेकपाको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षहरुले एउटै प्रस्ताव संयुक्तरुपमा पेश गरे।

त्यसमाथि छलफल गरी पार्टी र सरकार सञ्चालनबारे बिभिन्न निर्णय तथा सहमतिहरु भएपछि धेरैलाई लागेको थियो सत्तारुढ दलभित्र देखिएको विवाद अब चाहिँ सुल्झियो।

बैठकलगत्तै दुवै अध्यक्षहरुले जारी गरेको सर्कुलरमा पनि पार्टीभित्र विवाद उत्पन्न हुन नदिने घोषणा गरेका थिए।

तर एक महिना नपुग्दै कर्णाली प्रदेशबाट सुरु भएको किचलोले पार्टीभित्र गरिएको कमजोर युद्धबिराम पनि भंग भएको छ। केहि दिनयता पार्टीको शीर्ष तहमै विवाद फेरि छताछुल्ल भएको छ।

‘अहिले नयाँ संकट आएको होइन, पुरानोकै निरन्तरता हो। पार्टी संस्थागतरुपमा नचलेपछि यस्ता समस्या निरन्तर आइरहन्छन्। अहिले त्यही भएको हो,’ नेकपाका एक स्थायी कमिटी सदस्य भने, ‘तर यसअघि भन्दा पनि अहिले चाहिँ विवाद झनै गहिरिएको भने अवश्य हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा परामर्शबिना राजदूत तथा मन्त्रीहरु नियुक्त गरेको आरोप, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि शाहीको सरकार ढाल्न र बचाउन नेकपाभित्र भएका बिभिन्न खेलहरुले सो पार्टीभित्र अहिले आरोप प्रत्यारोप उत्कर्षमा छ।

कर्णालीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय मुख्यमन्त्री शाहीलाई हटाउन अविश्वास प्रस्ताव दर्ता गरेपछि दुवै पक्षले एकअर्काविरुद्ध खुलेरै मोर्चाबन्दी गरे।

सो मामिलामा प्रचण्ड पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका सांसदको साथ लिएर ओली पक्षको योजना निस्तेज पारे।

भदौको अन्तिम साता विवाद थामथुम पारेर गरिएको युद्धबिराम समेत कर्णाली काण्डपछि भंग भयो।

कर्णाली विवाद चुलिएका बेला दुवै अध्यक्षहरुले फरक फरक र परस्परविरोधी निर्देशन जारी गरे भने प्रदेशका नेताहरुले सोहिअनुसार खुलेर गुटगत गतिबिधिमा लागे।

त्यसपछि दुई अध्यक्षबीच तिक्तता झन् बढ्यो।

एघार दिन लामो संवादहीनतालाई तोड्दै नेकपाका अध्यक्षद्वयले शनिबार गरेको छलफलपछि नेताहरुको विवाद पहिले झैँ सामसुम हुने धेरैले अपेक्षा गरेका थिए। पछिल्लो समयमा देखिएको संकटले केहि निकास पाउने धेरैको अनुमान थियो।

तर, परिस्थिति भने झनै गम्भीर बन्यो।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको संवादपछि बालुवाटार र खुमलटारमा आफूनिकट नेताहरुसँगका बैठक झन् सघनरुपमा हुन थाले।

दुवै अध्यक्षहरुले शनिबारको छलफलमा भएको तिक्ततापूर्ण कुराकानीबारे आफू निकटहरुलाई ब्रिफिङ गरे।

आइतबार दिउँसो अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा नै गम्भीर संकट उत्पन्न भएको भनी सामाजिक सञ्जालमा लेखेपछि नेकपावृत्त पुरै तरंगित बन्यो

दुई अध्यक्षबीच यसअघि तीव्र विवाद हुँदा सँधै सहमतिमै अघि बढ्छ भन्ने महासचिव पौडेलले समेत त्यस्तो अभिव्यक्ति दिएपछि पार्टी साँच्चिकै गम्भीर स्थितिमा पुगेको हो की भनी धेरैले अड्कल काटे।

अध्यक्ष प्रचण्डले आइतबार सचिवालयका बहुमत सदस्यहरुलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै आफूलाई प्रधानमन्त्री ओलीले सहमतिमै पार्टी विभाजन गरौं भनेर पटकपटक प्रस्ताव गरेको जानकारी गराएका थिए।

सो कुरा सार्वजनिक भएपछि आइतबार दिनभर नेकपा विवादको चर्चा झनै चुलियो।

तर ओलीइतर नेताहरुले भने ओली पक्षबाट आएको भनाइलाई गम्भीरतापूर्वक लिनु जरुरी नभएको बताए।

‘अध्यक्ष ओलीको स्वभाव भनेको अलि थर्काउने, घुक्र्याउने र अन्तिमसम्म जिद्दी गरिरहने स्वभाव हो,’ वरिष्ठ नेता माधव नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘आगामी दिनमा बालुवाटारबाट चालिने कदमहरुको कदमहरु हेरेर मात्र साँच्चिकै फुटाउन लागेको हो वा होइन भन्ने निष्कर्षमा पुग्न सकिन्छ।’

उनले अहिले धेरैको इच्छा सहमति नै गरेर जाऔं भन्ने भएकाले अहिले नै पार्टी विभाजन हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको बताए।

‘अहिले त्यो संभावना पनि छैन र अहिले स्थिति त्यो बिन्दुमैं पुगिसकेको पनि देखिँदैन। धेरैको चाहना मिलेरै जानुपर्छ भन्ने नै छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘यस्तो बिवाद पूर्णरुपमा सकिने भनेको त दुवैको सर्वनास भएर वा रुपान्तरण भएर हो।’

ओलीनिकट केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि आइतबार चलेको पार्टी विभाजनको विषयलाई बेकारको हल्ला भनेका छन्।

नेताहरुबीच अहिले देखिएको विवादको कुनै सैद्धान्तिक आधार समेत नभएको हुँदा यस्ता विवाद नटिक्ने उनको बुझाइ छ।

‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको संकट उत्पन्न भएको भए पो संकट मान्नु, लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भैहाल्छ नि। बेकारको हल्ला’ बाँस्कोटाले ट्विटमा भनेका छन्।

याे पनि: नेकपा नेता भन्छन्ः ओली नै पार्टी फुटाउन लागिपरेपछि अरु चुप बस्ने कुरै छैन

आइतबार बालुवाटारमा प्रधानमन्त्री ओली र खुमलटारमा प्रचण्डले आफूनिकट स्थायी कमिटीका सदस्यहरुसँग परामर्श गरेका छन्।

ओलीले जिल्ला पुगेका आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई समेत परामर्शका लागि काठमाडौं बोलाएका छन्।

सोहि सिलसिलामा ओलीनिकट गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरु क्रमशः पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल पनि काठमाडौं आएका थिए।

उता प्रचण्डले प्रदेशअनुसारका स्थायी कमिटीका सदस्यहरुलाई भेटेर पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए। उनले सचिवालयका बहुमत सदस्यहरुसँग पनि छलफल गरेका थिए।

नेताहरुका यी गतिबिधिले भने नेताहरुले साँच्चिकै केहि गम्भीर कदम चाल्न लागेका पो हुन् की भन्ने चिसो केहि नेताहरुको मनमा पसेको छ।

शनिबार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा अध्यक्ष प्रचण्डले असहमतिका विषयमा एक्लाएक्लै विवाद गर्नुभन्दा सचिवालयका बैठक राखेर छिनोफानो गर्नुपर्ने धारणा राखेका थिए।

यसअघि प्रचण्डसँग संवाद नभइरहेका बेला ओलीले वरिष्ठ नेता नेपाललाई बोलाई एक्लाएक्लैरुपमा सघन छलफल गरेका थिए।

आफू तटस्थ रहने घोषणा गरेका उपाध्यक्ष गौतम प्रचण्डतर्फ नजिकिएपछि सचिवालयमा प्रधानमन्त्री ओली फेरि अल्पमतमा परेका छन्।

याे पनि: यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .