छापा खबर


आइसियुमा हुनुपर्ने कोरोना संक्रमित सडकपेटीमा भेटिए, किन कि उनी अझै बेहोस भएका छैनन्!

आइसियुमा हुनुपर्ने कोरोना संक्रमित सडकपेटीमा भेटिए, किन कि उनी अझै बेहोस भएका छैनन्!

नेपालखबर
असोज २५, २०७७ आइतबार २३:२९,

राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक।

आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ।

ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो।

ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो । तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’।

कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिनाअघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा सागर चन्दले लेखेका छन्।

बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मी/सिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो । साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे ।

चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

निजगढमा लामाकी श्रीमती मात्र छिन् । दसैँमा श्रीमान् पक्कै आउँछन्, पैसा ल्याउँछन् र ऋण तिरिएला भनेर उनी कुरेर बसेकी छिन् । ‘घरमा जहान मात्रै छिन् । कमाएर ल्याउँछ भनेर पर्खिरहेकी होलिन्,’ उनी सुनाउँछन् ।

कमाउन आएका उनले रोजगारी पाएनन् । सडकमै भए पनि मनकारीले दिएको खाना खाएर गुजारा गरिरहेका थिए । कामको खोजी जारी थियो । तर, दौडिँदा–दौडिँदै उनी कतिवेला संक्रमित भए, थाहै भएन।

लामो संक्रमित देखिए पनि उनीसँग खाना खाने ३० भन्दा बढी व्यक्ति र उनी सुतेकै पाटीमा सुत्ने ६ जनाले अझै कोरोना जाँच गराउन सकेका छैनन् । संक्रमण देखिएको रिपोर्ट दिँदा त जानकारी नगराउने यो राज्य संयन्त्रले सम्पर्कमा आएका व्यक्तिलाई सम्पर्क गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ला? गर्यो भने समाचार अवश्य आउनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad