सुत्केरी बेथा लागेपछि इटहरीकी रजुना थापा विष्ट १६ असोजको बिहान ६ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा पुगिन् ।
डाक्टरले उनलाई बेथा लाग्नेबित्तिकै अस्पताल आउन भनेका थिए । घर वा निजी अस्पतालभन्दा उनलाई बिपीमा बच्चा पाउन सुरक्षित र सहज होला भन्ने आस थियो । तर, सोचेजस्तो थिएन प्रसूति वार्ड ।
प्रसूति वार्डमा सुत्केरी आमाहरू भुइँमै बसिरहेका थिए, नवजात शिशुलाई काखमा राखेर । कतिपय भुइँमा म्याट ओछ्याएर पल्टिरहेका थिए । बेडहरू खाली थिएनन् । ‘बेड पाइन्छ कि भनेर धेरै कोसिस गर्यौँ, डाक्टर, नर्ससँग हारगुहार ग¥यौँ, तर बेड मिलेन,’ रजुनाका पति उद्धव विष्टले भने।
बिहानदेखि अबेर रातिसम्म पनि बेड मिलेन । र, राति रजुनाले भुइँमै बच्चा जन्माइन् । उनलाई लागेको थियो, बच्चा जन्मिएपछि त बेड पाइएला । ‘भुइँमै बच्चा जन्मियो । त्यसपछि पनि बेड मिलेन,’ उद्धवले भने, ‘रातभर भुइँमै बसेपछि अर्को बिहानै घर फर्कियौँ।’
कोरोना महामारीबीच पनि सुरक्षित हुने आसमा यहाँ आउने गर्भवतीको संख्या बढेको छ । जसले जोखिम त बढेको छ नै, भुइँमै सुत्केरी गराउँदा र बच्चा जन्माएपछि चिसो भुइँमै बस्नुपर्दा सुत्केरीहरूको अस्पताल बसाइ झन् कष्टकर पनि हुने गरेको छ।
कोही सुत्केरी बच्चा जन्माएको अर्को दिन घर फर्किने गरे पनि कतिपय हप्ता दिनसम्म चिसो भुइँमा रात कटाउन बाध्य छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा देवेन्द्र कार्कीले लेखेका छन्।
ठाउँ अभावका कारण एउटै बेडमा दुईजना सुत्केरीलाई पनि राखिएको छ । त्यतिले पनि नपुगेपछि केहीलाई बिरामी जाँच्ने टेबुलमा समेत राख्ने गरिएको प्रतिष्ठानले जनाएको छ । प्रसूति वार्डमा आकस्मिक कक्ष छ, जहाँ ६ वटा बेड छन् । आकस्मिक कक्षका बेडमा समेत दुई–दुईजना सुत्केरीलाई राख्ने गरिएको छ।
Shares

प्रतिक्रिया