नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ।
परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसायी मर्कामा परेका खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेका छन्।
भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको व्यवसायी बताउँछन्।
खसीबोका व्यवसायी दल्सी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए।
काठमाडौं चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले विभिन्न नाकाबाट अवैध रूपमा काठमाडौंको कंलकीको खसी बजारमा दैनिक ३ सय देखि ४ सयसम्म खसीबोका आउने गरेको बताए।
नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारतबाट भन्सार छली अवैध रूपमा दैनिक ३ सय देखि ४ सय खसीबोका काठमाडौं उपत्यकामा भित्रिँदा नेपालमा उत्पादन भएका खसीबोका बिक्री वितरण हुन छोडेको शाहीले बताए।
नेपालमा उत्पादन भएका खसीबोका हेर्दा दुब्लो पातलो देखिने र विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने भएकाले भारतबाट अवैध रूपमा आएका खसीबोका भन्दा केही महँगो हुन्छ।
भारतबाट अवैध रूपमा आएका खसीबोका सस्तो हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा पनि नेपाली व्यवसायी मर्कामा परेका हुन्।

प्रतिक्रिया