छापा खबर


नेपालका कर्मचारीको औसत तलब कति होला? यस्तो छ तथ्य

नेपालका कर्मचारीको औसत तलब कति होला? यस्तो छ तथ्य

नेपालखबर
असोज २१, २०७७ बुधबार ०:४९,

नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ।

केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको मासिक तलब २० हजार ५४३ रुपियाँ रहेको उल्लेख गरेको छ। प्रतिवेदन अनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न छन्।

संस्थाको प्रकृति अनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको छ । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ छ भने मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय।

त्यस्तै साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ तलब बुझ्ने गरेको पाइएको छ । लघु संस्थामा कार्यरत कर्मचारीले १६ हजार एक सय रुपियाँ तलब पाएको देखिएको छ।

ठूला संस्था र लघु प्रकृृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै साढे १० हजार रुपियाँभन्दा बढी छ । संस्थागत रूपमा ठूला संस्सथाले वार्षिक एक खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले एक खर्ब १० अर्ब र लघु प्रकृतिका संस्थाले ९६ अर्ब ५५ करोड वार्षिक तलबबापत खर्च गरेको उल्लेख छ।

अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिन्छ। यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad