१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ ।
सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर्माण कार्य सम्पन्न हुनुपर्नेमा विभिन्न समस्याले ४१ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।
सम्झौता भएको समयमा पुनर्निर्माणको काम नसकिएपछि समय थप्ने तयारी भएको छ ।
भूकम्पले भत्काएको स्थानमा गजुरसहित २२ तले धरहरा निर्माण हुँदै छ । अहिले १५औँ तलाको निर्माण कार्य भइरहेको छ ।
दुई वर्षमा पुनर्निर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले असोज ०७५ मा संयुक्त रूपमा काम सुरु गरेका खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर ध्रुव पौडेलले अहिलेसम्म ४१ प्रतिशत काम सकिएको बताए ।
पौडेलका अनुसार २० असोज ०७७ मा निर्माण सक्ने गरी सम्झौता भए पनि धेरै समस्या आएका कारण नसकिएको बताए ।
धरहरा निर्माण गर्नुपर्ने क्षेत्रमा भएका संरचना हटाउन धेरै समय लागेको र कोभिडका कारण पनि थप समस्या भएकाले समयमा निर्माण हुन नसकेको बताए ।
कोरोनाको जोखिम बढेपछि सरकारले गरेको लकडाउनको समयमा समेत पुनर्निर्माणको काम रोकिएको थिएन ।
Shares

प्रतिक्रिया