छापा खबर


जनकपुरमा आइपुगेको रेलमा कहिलेबाट चढ्न पाइन्छ?

जनकपुरमा आइपुगेको रेलमा कहिलेबाट चढ्न पाइन्छ?

नेपालखबर
असोज ३, २०७७ शनिबार १:५०,

शुक्रबार १२ बजेसम्म रेल आउने हल्लाले बिहान ९ बजेदेखि नै जनकपुरस्थित रेल्वे स्टेसनमा सर्वसाधारणको घुइँचो थियो। सबै उमेर समूहका सर्वसाधारण लिकनजिकै बसेर रेल आउने बाटो हेरिरहेका थिए।

रेल्वे स्टेसन पुगेका सर्वसाधारणले चार–पाँच घन्टा कुरेपछि दुईवटा रेल शुक्रबार दिउँसो जनकपुर आइपुगे । बिहान करिब साढे ११ बजे जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेका दुवै रेल दिउँसो पौने २ बजे जनकपुर रेल्वे स्टेसन आइपुगेका थिए । हर्न बजाउँदै रेल आएपछि सर्वसाधारणले हात हल्लाए अनि स्वागत गरे । खुसी भएर ताली पिटे र सेल्फी लिन व्यस्त रहे । 

रेल त आयो तर नागरिकले अहिले चढ्न पाउने नपाउँने खबर आजको नयाँ पत्रिकामा हदिश खुद्दारले लेखेका छन।

चालक दलसहितका कर्मचारी नेपालमा रेलको भव्य स्वागत देखेर चकित भए । भारतीय रेलचालक विभाव र एसके यादवले रेल चलाएर ल्याएका थिए । नेपाल सरकारले भारतबाट जिटुजी प्रक्रियाबाट भारत सरकारकै स्वामित्वको कोंकेन रेल्वे कर्पोरेससँग रेल किनेको थियो । तिनै दुई रेल जनकपुर आएका हुन् । रेललाई नेपालकै झण्डाको रङमा पेन्ट गरिएको छ । यसले रेल आकर्षक देखिएका छन् ।

रेल आए पनि ती तत्काल जनकपुरमा बस्ने छैनन् र सञ्चालनमा आउन केही समय लाग्नेछ । तत्काल सञ्चालनको अवस्था नरहेकाले दुवै रेललाई जयनगरस्थित नेपाली स्टेसनमा पु¥र्याइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । जयनगरमा तत्काल भारतीय पक्षकै रेखदेखमा रेल रहने उनले बताए । 

रेलमार्ग र रेल तयार भए पनि तत्काल सञ्चालन हुने छैनन् । विवाहपञ्चमी (पुस ४) सम्म रेल नियमित रूपमा सञ्चालनमा आउन सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालन हुने भएकाले कोरोना महामारीका वेलामा तत्काल रेल सञ्चालनको अवस्था नरहेको रेल्वे कम्पनीको भनाइ छ । ‘एक महिनाभित्र सञ्चालन गर्न सकिन्छ । तर, नेपाल–भारत क्रसबोर्डर चल्ने भएकाले सञ्चालनमा केही ढिलाइ हुन्छ,’ महाप्रबन्धक भट्टराईले भने ।

भारतको सहयोगमा निर्माण भइरहेको जनकपुर–बर्दिबास रेलमार्गको पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ३४ किलोमिटर रेल सञ्चालनको तयारी छ । दोस्रो चरणमा कुर्थादेखि बिजलपुरासम्म १८ किलोमिटरमा सञ्चालन गरिनेछ, जहाँ अहिले रेलमार्ग निर्माण जारी छ । त्यस्तै, बिजलपुरा–बर्दिबास १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहण प्रक्रिया थालिएको रेल्वे विभागका जनकपुर–बर्दिबास साइट इन्जिनियर विनोद ओझाले बताए ।

रेल परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० भारतीय प्राविधिक जनकपुर आइपुगेका छन् । उनीहरूमध्ये केही फर्किनेछन् भने केही रेलसँगै जयनगरमै बस्नेछन् । प्रशासनिक कर्मचारी नेपाल र प्राविधिक कर्मचारी भारतीय नै राखेर तत्काल रेल चलाउने तयारी छ । भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौताको गृहकार्य जारी छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad