छापा खबर


जनता भोकै पर्दै छन्, भोकले मर्दै छन्

जनता भोकै पर्दै छन्, भोकले मर्दै छन्

नेपालखबर
असोज १, २०७७ बिहिबार २३:४७,

संसद्मा राष्ट्रपतिले ‘अब कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भनेर २ जेठमा घोषणा गरेको साँझ सप्तरीका मलर सदाको घरमा चुलो बलेन।

त्यसपछि चार दिनसम्म भोकै बसेको परिवारलाई अन्न जुटाउन छाता र कोदालो बोकेर निस्किएका मलर सदा बाटोमै बेहोस भए र ज्यान गयो।

त्यसपछि भोकै पर्ने र भोकै मर्ने डरलाग्दो शृंखला जारी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा भोला पासवान र प्रकाश धौलाकोटीले लेखेका छन्।

न जमिन छ, न बैंक खाता । न शैक्षिक प्रमाणपत्र छ, न बैंकले कर्जा दिन्छ । त्यसैले ५० वर्षको उमेरसम्म पनि मलर सदासँग नागरिकताको प्रमाणपत्र थिएन । तर, अब भने राज्यबाट केही राहत हुन सक्छ भनेर उनले नागरिकता बनाउने फारम किनेर ल्याएका थिए।

आफूसँगै श्रीमती र तीन छोराको पनि नागरिकता बनाइदिने उनको योजना थियो । तर, उनको रहर पूरा भएन । महामारीको बीच ज्यालादारी काम पनि नपाएर भोकले उनको मृत्यु भयो । यसरी ५० वर्षको उमेरमा एक नेपाली ९अ०नागरिकको मृत्यु भयो।

मूलीको निधन भयो, नागरिकताको फारम भने अमूल्य नै होला भन्ने ठानेर उनको परिवारले अझै पनि घामपानीबाट जोगाएर राखेको छ।

गत फागुन दोस्रो साता मलरका कान्छा छोरा साजनले गुजरात जानुअघि ठेकेदारबाट पाएको दुई हजार पेस्की बुबाको हातमा थमाएर गएका थिए । घर बनाउने र छोरा साजनको बिहे गर्ने मलरको सपना थियो । घर बनाउन उनले बाँस पनि ल्याएका थिए । तर, चैतदेखि लकडाउन भयो, परिवारसँग त्यही दुई हजारको भर थियो।

सप्तरीको रामपुर पथरीमा डगर (बाटो)छेउको ऐलानी पाँच धुर जग्गामा मलरको परिवार बस्छ । चार पुस्तादेखि मुसहर समुदाय रामपुरमा बस्दै आएका हुन् । ३२ परिवारमध्ये २७ परिवारसँग नागरिकता छैन । चार परिवारले आफैँ बसेको जग्गा पनि ‘मालिक’सँग किन्नुपरेको छ।

सात परिवारले घरको दैलोमा काठको ढोका बनाएका छन्, बाँकी सबैले बाँसको फाटक र कपडाको अस्थायी आडमा रात बिताउँछन् । चोरले नै लग्ने गरी भित्र त्यस्तो केही छैन । त्यसो त सबै भूमिहीन दलितलाई भूमि र एकपटक घर बनाइदिने घोषणा भएको पाँच वर्ष भयो । तर, रामपुरका मुसहरलाई यो अविश्वसनीय सपना लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad