छापा खबर


प्रेमीले दिए धाेका, गर्भकाे बच्चा पाल्नेको खोजीमा १८ वर्षीया किशोरी

 प्रेमीले दिए धाेका, गर्भकाे बच्चा पाल्नेको खोजीमा १८ वर्षीया किशोरी

नेपालखबर
भदौ ११, २०७७ बिहिबार २:५,

अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्।

सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा इटहरीबाट हिमाल दाहालले लेखेका छन्।

गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमीले स्वीकार गर्ने आश्वासन दिए। तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन्। उनी प्रेमीकै गाउँसम्म पुगिन्।

‘तर, अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो’, उनले भनिन्, ‘न फाल्न सकिन्छ न त जन्माएर पाल्न नै।’ फाल्नका लागि ज्यान जोखिममा पार्नुपथ्र्यो, पाल्दा समाजलाई जवाफ दिनुपथ्र्यो।

दुवै गर्न नसक्ने अवस्थामा आमासँगको सल्लाहपछि उनी इटहरीस्थित श्रमिक महिला साझा मञ्चको आपत्कालीन आवासगृहमा बसिरहेकी छन्।

जिम्मा लिने भरपर्दा संस्था पनि नहुँदा जन्मिने बच्चा कुनै परिवारलाई दान गर्ने सोच बनाएको उनले बताइन्। ‘बच्चा नभएको परिवारलाई दिएर उज्यालो बनाइदिन्छु’, उनले भनिन्, ‘त्यसपछि म पढ्छु, काम गर्छु, केही गरेर देखाउँछु।’

आवासगृहमै बस्ने २८ वर्षीया एक महिलाले केही साताअघि बच्चा जन्माएर अस्पतालबाटै दान गरिन्। शारीरिक रूपमा अपांगता भएकी ती महिलाले जन्माएको बच्चाको बाबु पत्तो लागेन। उनले बच्चा पाल्न सक्ने अवस्था पनि रहेन।

यस्तै, स्कुले प्रेममा परी गर्भवती बनेकी एक १९ वर्षीया किशोरी पनि ११ महिनाकी छोरी अर्कै परिवारलाई दिन चाहन्छिन्। प्रेमी र परिवारले हेला गरेपछि उनले घर छाडेकी हुन्। आवासगृहमा बसिरहेकी उनले भनिन्,‘दिदीलाई बच्चा दिएर म विदेश जान्छु, कुरा गरिसकेकी छु।’

बच्चा पाल्न समस्या हुने आमाहरूको संख्या ठूलो छ। कमजोर आर्थिक अवस्थाका महिलाले छोराछोरीलाई अरूको घरमा काम गर्न राख्ने गर्छन्। तर, त्यसरी काम गर्न राखिएका बालबालिका भने दुव्र्यवहारमा समेत पर्छन्।

श्रीमान् र परिवारले हेला गरेर ९ वर्षअघि घरबारविहीन बनेकी ३३ वर्षीया एक महिलाले ८ वर्षकी छोरीलाई दिदीको घरमा काम गर्न राखेकी थिइन्। तर, भिनाजुले रक्सी खाएर छोरीलाई दुव्र्यवहार गरेको थाहा पाएपछि उनले फिर्ता ल्याइन्। उनी आवासगृहमै कर्मचारीका रूपमा काम गरिरहेकी छन्।

श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लीला भुजेलका अनुसार धेरै महिला अनिच्छित गर्भ बोकिरहेका छन्। फाल्ने समय पनि बितिसकेको अवस्थामा जन्म दिनुको विकल्प हुँदैन। जन्माएर पनि पाल्न नसक्नेहरूले भने प्रहरी तथा अस्पतालको समन्वयमा अन्य परिवारलाई बच्चा दान गर्ने गरेको उनको भनाइ छ।

कानुनले धर्मपुत्र पाल्नेसम्बन्धी व्यवस्था गरेको छ। ‘तर, निःसन्तान दम्पतीले धर्मपुत्र, पुत्री पाल्न पाउँदैनन्’, अधिवक्ता नीराजन ओझाले भने, ‘कानुनमा नभए पनि व्यावहारिक पक्ष हेरेर बच्चा पाल्न चाहने दम्पतीहरूले नवजात शिशु जिम्मा लिने गर्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad