छापा खबर


आफ्नै बमले आफैं मारिँदै विप्लव कार्यकर्ता

आफ्नै बमले आफैं मारिँदै विप्लव कार्यकर्ता

नेपालखबर
साउन ६, २०७६ सोमबार २:११,

करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन्।

सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहका नेता कार्यकर्ता आफैंले बोकेको बम विस्फोट हुँदा मारिएका हुन्।

गत १२ जेठमा राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटदेखि २ साउनमा धनगढीमा भएको विस्फोटसम्मका चार घटनामा ६ जना विप्लव नेता कार्यकर्ताको ज्यान गएको हो। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

गत जेठमा राजधानीको सुकेधारामा बम विस्फोट हुँदा तीन जना नेकपाका नेता कार्यकर्तासहित एक सर्वसाधारणको ज्यान गएको थियो।

सो विस्फोटमा नेकपाका नेताहरू कृष्णप्रसाद भण्डारी ‘निरन्तर’, गाधीराम रानामगर ‘गोकुल’ र दीपेन्द्र विक ‘देउराम’ को ज्यान गएको थियो ।
यसैगरी सोही दिन नै घट्टेकुलोमा भएको विस्फोटमा विद्यार्थी नेता प्रज्वल शाहीको ज्यान गएको थियो । सो विस्फोट भने कोठाभित्र बम राखिएकै अवस्थामा भएको थियो।

यसैगरी, सोही दिन नै थानकोटमा आफैंले बोकेको बम विस्फोटमा परी घाइते भएका अर्का एकको समेत निधन भएको थियो भने यी तीन घटनामध्ये सुकेधारामा एक सर्वसाधारण मारिएका थिए।

यसैगरी, गत बिहीबार धनगढीमा नेकपाका कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’को आफैंले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको थियो । सो विस्फोटमा अर्का एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ।

यस बीचमा भएका बम विस्फोटका घटनामा परी विप्लव नेता कार्यकर्ता र सर्वसाधारण गरी १० जना घाइते भएको प्रहरीले बताएको छ।

विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धपछि सो समूहबाट देशभर गरी १९ वटा विस्फोटका घटना भएको प्रहरीले जनाएको छ।

यस्तै, यसबीचमा ९५ वटा बम निष्क्रिय पारिएको र १० स्थानमा आगजनी र तोडफोडका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रतिबन्दयता हालसम्म प्रहरीले विप्लव समूहका नेता कार्यकर्ताबाट विभिन्न प्रकारका गरी २३ नाल हतियारसमेत बरामद गरेको छ।

यसैगरी, ४१७ राउन्ड गोली, ४ थान डेटोनेटर र ३१ मिटर डेटकर्ड सो समूहबाट बरामद भएको प्रहरीको तथ्यांकले देखाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad