छापा खबर


आइसियू र भेन्टिलेटर सञ्चालन गर्ने विशेषज्ञको चरम अभाव

आइसियू र भेन्टिलेटर सञ्चालन गर्ने विशेषज्ञको चरम अभाव

नेपालखबर
भदौ ८, २०७७ सोमबार २३:४६,

कोभिड महामारीका वेला सरकारले पर्याप्त आइसियू भेन्टिलेटर व्यवस्था गरेको छैन भनेर आलोचना भइरहेको छ । तर, भएका भेन्टिलेटर चलाउन पनि जनशक्ति अभाव छ।

अहिले देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये नौ सय ८४ शय्या आइसियू र चार सय ९० भेन्टिलेटर सरकारले कोभिड संक्रमितको उपचारका लागि छुट्याएको छ । तर, ती सञ्चालन गर्ने पर्याप्त जनशक्ति नै नभएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

आइसियू सञ्चालनका लागि क्रिटिकल केयर ‘सुपर स्पेसलिस्ट’ नेतृत्वमा टिम चाहिन्छ । तर, अहिलेसम्म नेपालका कुनै पनि सरकारी अस्पतालमा ‘क्रिटिकल केयर’को दरबन्दी नै सिर्जना गरिएको छैन । एनेस्थेसियाका चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

क्रिटिकल केयर स्पेसलिस्ट तथा नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका पूर्वअध्यक्ष प्राडा सुवास आचार्यका अनुसार एक क्रिटिकल केयर सुपर स्पेसलिस्टले आठदेखि १० बेडको नेतृत्व गर्न सक्छ । यो हिसाबले सरकारले कोरोना संक्रमितको उपचारका लागि छुट्याएका नौ सय ८४ आइसियू बेड सञ्चालनका लागि मात्रै पनि करिब ९८ जना ‘क्रिटिकल केयर सुपर स्पेसलिस्ट’ चाहिन्छन् ।

क्रिटिकल केयर सुपर स्पेसलिस्ट नभएका ठाउँहरूमा वा त्यस अवस्थामा ‘एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट’ले पनि बिरामी हेर्न सक्छन् । तर, यो जनशक्ति पनि सरकारसँग जम्मा सातजनाको छ ।

त्यस्तै, ‘क्रिटिकल केयर सुपर स्पेसलिस्ट’को नेतृत्वमा एनेस्थेसियोलोजी वा आइसियूमा काम गर्ने इन्टरनल मेडिसिन स्पेसलिस्ट दुईजना अनिवार्य चहिन्छ । यस्ता विशेषज्ञ एक सय ९६ आवश्यक पर्छन् । तर, यो जनशक्ति पनि सरकारसँग जम्मा २२ जनाको मात्रै छ ।

अहिले देशभर सरकारी सेवामा एनेस्थेसियोलोजिस्टमा ८० जनाको मात्र दरबन्दी छ । तर, त्यसमा जम्मा सातजनाले क्रिटिकल केयरको नेतृत्व गरेका छन् । उनीहरूको नेतृत्वमा २२ जनाले काम गरिरहेका छन् ।

नेपालका स्वास्थ्य सेवामा क्रिटिकल केयरमा कति जनशक्ति चाहिन्छ भनेर सरकार आफैँले अहिलेसम्म कुनै अध्ययन र प्रक्षेपण गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .