छापा खबर


ख्याल गरौँ, सामाजिक सञ्‍जालबाट जोडिएका अवैध सम्बन्धले जाला ज्यान

ख्याल गरौँ, सामाजिक सञ्‍जालबाट जोडिएका अवैध सम्बन्धले जाला ज्यान

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १:५१,

परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो।

चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।

हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन्।

२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन्। श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्ध थियो। उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन्।

नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो। कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटकपटक सम्झाएकी पनि थिइन्। तर, छोरी नै आमाका काल बनिन्।

२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्‍यो। प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो।

परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो। साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटकपटक विवाह गर्न दबाब दिएकै कारण आवेगमा आएर माघ २१ गते हत्या गरेको बयान दिए।

विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए।

दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए। सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो।

यी घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराधका शृंखला मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। मन मिलुन्जेल अवैध सम्बन्ध ठीक।

तर, सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। यतिसम्मकि अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको देखिन्छ।

गोंगबुको घटना पनि यसैको एउटा उपज हो। कृष्णबहादुर र कल्पनाबीचको सम्बन्ध राम्रो हुँदाहुँदै पनि त्रासदीपूर्ण घटनामा आएर टुंगिन पुग्यो। कारण थियो, कृष्णबहादुरले कल्पनाको भावभंगीको फाइदा उठाएर नक्कली फेसबुक आईडी बनाई नग्न र अश्लील फोटो अरुलाई पठाइदिए।

कल्पनाले कृष्णबहादुरबाट त्यसखालको व्यवहार चाहेकी थिइनन्। तर, कृष्णबहादुर त्यसैलाई हतियार बनाएर कल्पनाको छोरीसम्मलाई गलत नजरले हेर्न थालिसकेका थिए।

यौनमा रमाउन थालेका कृष्णबहादुरबाट आफ्नी छोरीसमेत असुरक्षित बनेको देखेपछि आफूले योजनाअनुसार नै हत्या गरेको कल्पनाको बयान प्रहरीसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad