छापा खबर


भत्काएर भत्किएनन् ज्यानमारा छाउगोठ

भत्काएर भत्किएनन् ज्यानमारा छाउगोठ

नेपालखबर
साउन २८, २०७७ बुधबार १:७,

महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो।

दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो।

आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो।

सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन्। आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन्।

अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो।

असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ललितबहादुर बुढा र हिक्मतबहादुर नेपालीले लेखेका छन्।

इन्सेकका अनुसार पछिल्लो २५ बर्षयता दैलेखमा १३ जना महिला तथा किशोरीहरुले छाउगोठमै ज्यान गुमाएका छन्। दैलेखमा मात्र होइन, कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी बार्ने प्रचलन कायमै छ।

महिनावारी बार्ने नाममा महिला तथा किशोरीहरुलाई अहिले पनि तिनै मान्छे नै निल्ने अर्थात ज्यानमारा छाउगोठमा राख्ने गरिन्छ। जसकोकारण महिला तथा किशोरीहरुले अकालमै ज्यान गुमाउने गरेका छन्।

केहीवर्ष अघि सुर्खेतको गुटुमा स्थानीय निर्मला बर्तौलाको छाउगोठमै ज्यान गयो। महिनावारी भएपछि घरदेखि टाढा रहेको छाप्रोमा सुतेकी उनको मध्यरातको चिसोले कठ्याङग्रीएर ज्यान गएको थियो।

छाउगोठमा सुतकै कारण ज्यान गुमाउने, बलात्कृत हुने, चिसोले कठ्याङग्रीने, जंगली जनावरको आक्रमणमा पर्ने र सर्पले डस्ने लगायतका समस्याबाट यहाँका महिला तथा किशोरीहरु पीडित भइरहेका छन्।

प्रहरीले छाउगोठ भत्काएपछि स्थानीयले अहिले पनि महिला तथा किशोरीलाई महिनावारीको बेलामा घरभित्र बसाल्दैनन्।

बरु छाउगोठको ठाउँमा धमाधम ‘छाउघर’ हरु निर्माण भइरहेका छन्। छाउगोठ भन्दा प्रहरीले भत्काउने त्रासका कारण स्थानीयले घरदेखि अलग्गै छाउघर बनाउन थालेका छन्। घरदेखि टाढा निर्माण गरिएका यस्ता गोठलाई महिला र किशोरीहरुले सामुहिक रुपमा प्रयोग गर्छन्।

चौकुने गाउँपालिकास्थित घाटगाउँकी माता विकले भनिन्,‘अहिले पनि घरभित्र बस्दैनौं, हाम्रो टोलमामहिनावारी हुँदा सबैले प्रयोग गर्नेगरी छाउघर बनाएका छौं।’ त्यही छाउघरमा महिनावारी भएकाहरु सुत्ने गरेको उनले जनाइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad