छापा खबर


सरकारले नै कालोसूचीमा राखेका विदेशी कम्पनीका एजेन्ट लगानी बोर्डको सिइओ

सरकारले नै कालोसूचीमा राखेका विदेशी कम्पनीका एजेन्ट लगानी बोर्डको सिइओ

नेपालखबर
साउन १९, २०७७ सोमबार २३:५७,

पूर्वाधार विकासका आयोजना अलपत्र पारेको भनेर कालोसूचीमा राखिएका विदेशी कम्पनीका एजेन्ट सुशील भट्टलाई लगानीको बोर्डको सिइओ बनाएर सरकार आफैँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मजाक बनाएको छ।

राष्ट्रिय गौरवको बुढीगण्डकी अलपत्र पारेर देशलाई वर्षमा ६५ अर्ब क्षति पुर्‍याइरहेका सुशील र उनका भाइ दीपक भट्टले १३ भन्दा बढी आयोजनालाई अलपत्र पारेका खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र कृष्ण रिजालले लेखेका छन्।

भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट विद्युत् प्रसारण निर्माणको ठेक्का पाएको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले काम अलपत्र पारेपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडी करिब ३० करोड रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । सिसिपिजीलाई कालोसूचीमा राखिएको छ । जसको स्थानीय ठेकेदार सुशील र दीपक भट्ट हुन् ।

त्यस्तै, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा सबस्टेसन निर्माणको ठेक्का अर्को चिनियाँ कम्पनी सेन्जेन फराद इलेक्ट्रिकले पाएको थियो । तर, ठेक्का सम्झौता गर्न नै नआएर अलपत्र पारेपछि सेन्जेन फराद पनि कालोसूचीमा परिसकेको छ । यसको पनि स्थानीय एजेन्ट भट्ट दाजुभाइ नै हुन् ।

हेटौँडा, ढल्केबर र इनरुवाको विद्युत् सबस्टेसन, काबेली करिडोर, तामाकोसी–काठमाडौं प्रसारण लाइन, बाह्रबिसेमा निर्माणाधीन सबस्टेसन, मातातीर्थमा बन्दै गरेको सबस्टेसन, हेटौँडा–भरतपुर प्रसारण लाइन र नेपाल प्रहरीको सञ्चार सेट ल्याउनेलगायतका ठेक्का उनीहरूले अलपत्र पारेका छन् ।

तर, देशका विकास आयोजना अलपत्र पार्ने भट्टको शैलीलाई नै ‘योग्यता’ मानेर सरकारले उनलाई नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई चार वर्षका लागि बोर्डको सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

आफूलाई लागेको आरोप तथा लगानी बोर्डमा भएको नियुक्तिमाथि उठेको प्रश्नको विषयमा भट्टले प्रतिक्रिया दिन चाहेनन् । उनलाई मोबाइलमा कल तथा ह्वाट्एपमा म्यासेज गर्दा पनि कुनै प्रतिक्रिया दिएनन् ।

यद्यपि, उनले सार्वजनिक रूपमा भने आफू कुनै पनि विदेशी कम्पनीको एजेन्ट नभएको तथा भाइ दीपक भट्टको व्यवसायमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad