ad ad

छापा खबर


सुन ताेलाकाे लाख नजिक, मूल्य अचाक्ली किन बढ्यो?

सुन ताेलाकाे लाख नजिक, मूल्य अचाक्ली किन बढ्यो?

नेपालखबर
साउन १३, २०७७ मंगलबार ३:२,

कोभिड-१९ का कारण संसारका सबै मुलुकमा आर्थिक मन्दी देखिएपछि सुरक्षित लगानीको खोजी गर्ने सबैको ध्यान सुनमा परेको छ।

लगानीकर्ताको चर्को मागका कारण सुनको मूल्य दैनिक उकालो लागिरहेको छ।नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यो कल्पना गरेभन्दा निकै बढी हो। यो खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

निरन्तर बढिरहेकाले सुन तोलाको लाख पुग्ने अनुमान गर्न थालिएको छ। कोभिड-१९ को समस्या सुरु हुनुभन्दा अघि गत पुस १२ मा सुनको भाउ प्रतितोला ७३ हजार ३ सय रुपैयाँ थियो।

सुनलाई विश्वमै सबैभन्दा सुरक्षित लगानीको उपकरण मानिन्छ। अहिले कोभिडका कारण अर्थतन्त्रका प्रायः सबै क्षेत्र डामाडोल छन्। कोभिडको समस्या तत्काल समाधान हुने कुनै लक्षण देखिएको छैन। अर्कोतर्फ मन्दीमा गएको विश्व अर्थतन्त्र उकासिने समय पनि कसैले किट्न सकेको छैन।

मनी मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार नौ सय ४२।२ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार अमेरिकी डलर पुग्ने विश्लेषण हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

‘नेपाली बजारमा पनि सुन तोलाको एक लाख रुपैयाँमाथि पुग्ने अनुमान गरिएको छ,’ उनले भने। कोरोनाको असर निरन्तर जारी रहे सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ।

सुनको मूल्य बढ्नुमा प्रमुख कारण कोभिडले विश्व अर्थतन्त्रमा पारेको समस्या नै हो। यसका अन्य सहायक कारण पनि छन्। विश्वभरका लगानीकर्ताले सुनलाई सम्पत्ति मान्छन्। राजनीतिक अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ताले सुनमा लगानी बढाउँछन्। उद्योगधन्दा, सेयर बजार, घरजग्गा कारोबारलगायतका अन्य क्षेत्र अनिश्चित छन्।

अर्थशास्त्री विश्व पौडेलका अनुसार सुनमा गरिएको लगानी सुरक्षित देखेर आकर्षित हुँदा भाउ बढेको हो। ‘कोभिडका कारण लगानीकर्ताले अन्य क्षेत्र सुरक्षित ठानेनन्,’ पौडेलले भने, ‘सेयर बजार पनि क्र्यास हुन सक्ने भएकाले सुनमा लगानी बढाउँदा मूल्य बढेको हो।’ अर्थशास्त्री पौडेलका अनुसार विकसित मुलुकमा सेयर कारोबार, घरजग्गा र सुनमा लगानी धेरै हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .