छापा खबर


सबै सर्प विषालु हुँदैनन्, कति छन् नेपालमा विषालु प्रजातिका सर्प?

सबै सर्प विषालु हुँदैनन्, कति छन् नेपालमा विषालु प्रजातिका सर्प?

नेपालखबर
साउन ११, २०७७ आइतबार १:१५,

सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ। सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारहरु बताउँछन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा.सञ्जीव शर्मा

सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन। कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैनन्।

आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेको समाचार अनुसार सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ । त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न। बाँकी १० प्रतिशतमा समयमै उपचार गर्न सके बचाउन सकिने शर्मा बताउँछन्।

चिकित्सक शर्माको भनाइ अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ । टेरेनन् भने मात्र डस्छ । पहिलो डसाइमा उसले विष छाड्दैन । चलाइरह्यो भने दोस्रो पल्ट विषसहित डस्ने गर्छ।

कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ । तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ।

सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ । राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघात जस्तो हुन्छ । जसलाई बचाउन कठिन पर्छ । करेतबाट बच्न खाटमा झुल हालेर सुत्ने र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ । करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ।

तराईमा बाघे सर्पको बिगबिगी यहीबेला हुन्छ । यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ । समयमै उपचार नपाए रगतको कम हुने र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ । पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ । यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ । हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ । हिमालको सर्पमा विष हुन्न भनेर लापरबाही नगर्न शर्मा सुझाब दिन्छन्।

विषालु सर्पले डसेपछि शिरको भागदेखि असर सुरु हुने चिकित्सक शर्मा बताउछन्। विषका कारण स्नायुतन्त्रले काम गर्न नसकी पक्षघात गराउँछ र बिरामीको मृत्यु हुन्छ। आँखा उघार्न नसकी लोलाउँदै जाने, जिब्रो निकाल्न नसक्ने, घाँटीमा स्नायु बिग्रँदा थुक, ¥याल मुखमै जम्मा हुने, निल्न नसक्ने हुन्छ।

मानिसको छातीमा असर गर्न थालेपछि श्वासप्रश्वास रोकिएर मृत्यु हुन्छ । यस अवस्थामा कृत्रिम श्वासप्रश्वाससहित भेन्टिलेटरमा राख्ने र मिर्गौलाको डायलासिस गर्नुपर्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार मध्य मनसुनको ६० दिन सर्पदंशको उच्च जोखिमको समय हो। तराईका २३ जिल्लामा गरिएको अध्ययनले वर्षभर ४० हजार जनालाई सर्पले डस्छ । नेपालमा झन्डै २१ प्रजातिका विषालु सर्प पाइन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad