छापा खबर


नेकपामा शक्तिशाली विभाग लिन सचिवालयमै तँछाडमछाड

नेकपामा शक्तिशाली विभाग लिन सचिवालयमै तँछाडमछाड

नेपालखबर
साउन २, २०७६ बिहिबार २:३७,

सत्तारूढ नेकपाको पार्टी एकता घोषणाको १४ महिना बित्यो। मंगलबार दुई अध्यक्षबीच जिल्ला इन्चार्ज र सहइन्चार्ज र विभागहरू बाँडफाँड गर्ने सहमति पनि भयो।

तर, शक्तिशाली विभाग कसले लिने भन्नेबारे शीर्ष तहमै प्रतिस्पर्धा देखिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

एकीकरण प्रक्रिया प्याकेजमै टुंग्याउने गरी अन्तिम तयारी अघि बढिरहेकै वेला हेभिवेट नेताहरू नै विभाग प्रमुखका आकांक्षी देखिएका हुन्।

अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको लगातार छलफलपछि साउन पहिलो सातामा एकीकरण प्रक्रियाका सबै काम प्याकेजमै टुंग्याउने सहमति जुटेको थियो।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये दुई अध्यक्षले कुनै विभाग वा संगठन हेर्ने छैनन्।

बाँकी सबै नेताहरूको कार्यविभाजनमा सहमति गर्दै अध्यक्षद्वयले उनीहरूलाई जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग, मोर्चा फाँट, प्रवास, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विभिन्न प्रतिष्ठानहरूमा जिम्मेवारी तोक्ने समझदारी गरेका छन्।

ओली र प्रचण्डबीच ३२ वटा केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ।

संख्या भागबन्डा भए पनि कुन विभाग कसले लिने र कसलाई जिम्मेवारी दिने टुंगिन बाँकी रहेको एक नेताले बताए । केन्द्रीय विभागमा सचिवालय र स्थायी समिति सदस्यहरूमध्येबाटै तोकिने गरी छलफल चलेको छ । नौ सदस्यीय केन्द्रीय सचिवालयमा दुई अध्यक्षबाहेक सातजना ‘हेभिवेट’ नेता छन्।

ओली र प्रचण्डपछि मर्यादाक्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छन् । त्यसपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन्।

सात नेतालाई विदेश विभाग, संगठन विभाग, पार्टी स्कुल विभाग, प्रादेशिक मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग, राजकीय मामिला तथा सुशासन विभागमध्येबाट जिम्मेवारी तोक्ने तयारी छ।

तर, प्रचार तथा प्रकाशन विभाग भने स्थायी समिति सदस्यमध्येबाट पनि बनाउन सकिने गरी विकल्प खुला राखिएको स्रोतले जनायो।

स्रोतका अनुसार साबिक एमाले समूहले लिने विभाग प्रमुखमा ओलीले वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेर सहमति जुटाउनेछन् भने माओवादीतर्फको सूची प्रचण्डले तयार गर्नेछन् । दुवै समूहको सूची तयार भइसकेपछि सचिवालय बैठकअगावै अन्तिम रूप दिइने बताइएको छ।

 संगठन विभागमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रामबहादुर थापा‘बादल’को चर्चा छ। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गौतमलाई संगठन विभाग प्रमुख बनाउन चाहेका छन्।

नेताहरूबीच समझदारी हुँदा प्रवक्तासमेत रहेका श्रेष्ठले स्कुल विभाग लिन चाहेका छन् । सचिवालयमा सहमति भए विदेश विभाग वरिष्ठ नेता नेपाललाई र संगठन विभाग गौतमलाई छाडेर श्रेष्ठले तेस्रो रोजाइको स्कुल विभाग लिन चाहेको स्रोतले बतायो।

अध्यक्ष ओलीको प्राथमिकतामा भने संगठनमा पौडेल वा बादल र स्कुलमा ईश्वर पोखरेललाई जिम्मेवारी दिने चाहना रहेको स्रोतले बताउँछ । प्रचार तथा प्रकाशन र आर्थिक विभागमा भने सचिवालयका नेताहरूको खासै रुचि छैन।

अध्यक्ष ओलीले पनि विदेश विभागको जिम्मेवारी नेपाललाई नै दिन चाहेका छन् । प्रभावशाली मुख्य विभागमा कुरा मिल्नेबितिक्कै बाँकी विभागमा सहजै सहमति हुने उच्च स्रोतको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल भने अहिलेसम्म विभागीय जिम्मेवारीबारे मौन छन्।

दुई अध्यक्षबीच अहिलेसम्म सैद्धान्तिक सहमति मात्र भएकाले सचिवालयका नेताहरूको विभागीय जिम्मेवारी टुंगो नलागेसम्म गृहकार्य भएको प्रस्तावमा ठोस सहमतिको सम्भावना न्यून रहेको नेताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad