छापा खबर


तिनकुनेमा बन्दै गरेको आर्क ब्रिजको जगमै त्रुटि भेटियो

तिनकुनेमा बन्दै गरेको आर्क ब्रिजको जगमै त्रुटि भेटियो

नेपालखबर
साउन २, २०७६ बिहिबार ०:४९,

राजधानीको व्यस्त सडक नयाँ बानेश्वर–तीनकुने जोड्ने निर्माणाधीन आर्क बिज्रको जग नै मापदण्डविपरीत रहेको पुष्टि भएको छ।

पाटन इन्जिनियरिङ कलेजका सह–प्राध्यापक नारायण गौतम नेतृत्वको कन्सल्टेन्ट सर्भिस सेक्सनले तीन महिना लगाएर गरेको अनुसन्धानपछि पुलको जग नै मापदण्डविपरीत रहेको पत्ता लागेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

सेक्सनले अध्ययन प्रतिवेदन सडक विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई बुझाइसकेको छ ।

प्रतिवेदनअनुसार पुलको जग २९ दशमलव ५ मिटर गहिरो हुनुपर्नेमा निर्माण कम्पनी (पप्पु कन्स्ट्रक्सन) ले १६ दशमलव १२ मिटर मात्रै खनेर ढलान गरेको छ । पुलका लागि १६ वटा जग आवश्यक छ । जसमध्ये दुईवटा जग निर्माण सम्पन्न नहुँदै चर्किएको छ।

विस्तार आयोजनका प्रमुख अर्जुनप्रसाद अर्यालले पुलको जग मापदण्डविपरीत रहेको पुष्टि भएको बताए ।

उनले भने, ‘हाम्रै सुपरिवेक्षणमा उसले पुलको जग हाल्यो । मापदण्डविपरीत भएको देखिएपछि हामीले तत्काल रोक्न भन्यौँ। तर, उसले जबर्जस्ती काम ग(यो । ठेक्काबापतको रकम रोकेपछि बल्ल उसले काम रोक्यो । यही क्रममा जगको परीक्षण गर्नुपर्ने निर्देशन दियौँ । पाटन कलेजका इन्जिनियरले तीन महिना लगाएर अध्ययन गरे । अध्ययनले पनि पुलको जग मापदण्डविपरीत रहेको पुष्टि गरेको छ।’

पुलको जग सुधारका लागि कन्सल्टेन्ट सर्भिस सेक्सनले सुझाब दिएको तर, अझै चित्तबुझ्दो नभएको आयोजनाको भनाइ छ ।

अध्ययन प्रतिवेदनमा मापदण्डविपरीत बनेको जगलाई सपोर्ट गर्न सोही ठाउँमा अर्को जग बनाइनुपर्ने उल्लेख छ । तर, यसले मात्रै पुलको भार नथेग्ने आयोजनाको भनाइ छ । पुलको बीचमा पर्ने गरी वारपार १६ वटै जग हाल्न सके मात्रै बलियो हुने आयोजना प्रमुख अर्यालले बताए ।

 उनले भने, ‘कन्सल्टेन्टले सुधारका लागि सुझाब दिएको छ । तर, त्यो चित्तबुझ्दो छैन । यी सबै जान्दाजान्दै हस्ताक्षर गरेर पुल निर्माणको अनुमति दिन हामी सक्दैनौँ । हामीले भनेअनुसार पक्की पुल निर्माण नगरे ठेक्का नै तोड्नेसम्मको कारबाही गर्न बाध्य हुनेछौँ ।’

२१ करोड ३३ लाख रुपैयाँमा बन्न लागेको पुलको ठेक्का सम्झौता ४ पुस ०७१ मा भएको हो । सम्झौताअनुसार पुल निर्माणको सम्पूर्ण काम ५ असार ०७५ मै सकिनुपर्ने थियो ।

तर, पुल निर्माणको ३० प्रतिशत मात्रै काम भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको प्रगति विवरणले देखाउँछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad