छापा खबर


विज्ञ भन्छन्- नेपालका संक्रमितमा कोरोनाका नयाँ लक्षण पनि देखिँदै छ

विज्ञ भन्छन्- नेपालका संक्रमितमा कोरोनाका नयाँ लक्षण पनि देखिँदै छ

नेपालखबर
असार १३, २०७७ शनिबार २:२६,

हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो।

यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ।

‘पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउनेभन्दा पनि थप लक्षण पाइएका छन्’, उनले भने, ‘सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने लक्षण देखा परेका छन्। जीउ दुख्ने, एकदम थकाइ महसुस हुने लक्षण पनि देखिएका छन्।’

पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ।

महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षणसमेत उल्लेख गर्ने गरी फारम पठाइएको छ। त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ।

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा.राजभण्डारीले बताए। उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन। ‘लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गर्ने गरिएको छ’, उनले भने।

उनले ज्वरो मात्र आएका बिरामीलाई प्यारासिटामोल दिने गरिएको बताए। निमोनियाका लक्षण देखिएका संक्रमितको एक्सरे र सिटिस्क्यानसमेत गरिन्छ। अक्सिजनको सहारामा उपचार गर्ने बिरामीलाई विशेष निगरानीमा राखिन्छ।

सास फेर्न गाह्रो हुनेलाई सघन उपचार कक्ष (आईसीयू) मा उपचार गरिन्छ। ती सबैको आत्मबल बढाउन मनोसामाजिक परामर्श र आहारव्यवहारमा ध्यान दिने गरिएको उनले सुनाए।

नयाँ लक्षण के(के देखा परे भन्ने सम्बन्धमा सबै अस्पतालले फारम भरेर पठाएपछि थाहा हुने डा. पाण्डेले बताए। ‘कोरोना संक्रमणकै कारण स्वादमा कमी आउने, श्रवण शक्तिमा ह्रास आउने हो वा अन्य कारण हुन् भन्नेबारे सबै अस्पतालले लक्षणसहितको फारम पठाएपछि खुल्नेछ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad