नेपालीले दाल-सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन।
हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपैयाँ भने ठूलै छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।
बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा म्यानमार र भारतबाट २७ करोड ९५ लाख ११ हजार रुपैयाँको बेसार ल्याइएको छ। त्यसको परिमाण भनेको २१ लाख ७९ हजार ८ सय ५७ किलो (२ हजार १ सय ७९ टन) हो।
योे अवधिमा नेपालबाट ११ सय २९ किलो मात्र निर्यात भएको छ। त्यो भनेको ३० हजार रुपैयाँबराबरको हो। यो वर्ष नेपालमा ९ हजार ७ सय ९५ हेक्टरबाट ९९ हजार ९ सय ७ टन बेसार उत्पादन भएको छ।
प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा बेसार महत्वपूर्ण रहेको बताउँदै आएका छन्। उनले गत बिहीबार राष्ट्रियसभा बैठकमा बेसारपानी पिउँदा कोरोना ठीक हुने बताएका थिए।
बेसार कसरी र किन खाने? यसको सेवन गर्दा के फाइदा हुन्छ? यस्ता विषयमा ओलीले लामो अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यानका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा.समिद अहमदले नेपालमा मुख्य गरी कपुरकोट हलेदो १ र कपुरकोट हलेदो २ जातको बेसारको खेती हुने बताए।
‘हामीकहाँ बेसारको व्यावसायिक खेती हुन्न’, उनले भने, ‘लगानी अभावमा बेसारमा हामी आत्मनिर्भर हुन सकेनौं।’ नेपालका तराई र मध्य पहाडी जिल्लामा यसको खेती हुन्छ।
आयुर्वेद चिकित्सकले बेसार, अदुवा, मरीच, मेथीलगायतमा औषधीय तत्व हुने बताएका छन्। वरिष्ठ कायाचिकित्सक एवं आयुर्वेद शिक्षण अस्पतालका पूर्वनिर्देशक प्रा.डा.देवबहादुर रोकाले बेसारमा एन्टिसेप्टिक (किटाणुनाशक), एन्टिटक्सिक (विषनाशक) र एपिटाइजर (खाना रुचि गराउने) तत्व रहेको बताए।
‘खाद्य पदार्थमा बेसार प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता बढाउँछ’, उनले भने, ‘यो बहुगुणी छ।’ भाइरस, ब्याक्टेरिया, प्यारासाइट्स, फंगसलगायतको संक्रमण रोक्न बेसार उपयोगी हुने डा.रोकाको भनाइ छ।
बेसारका साथै अदुवा, मेथी, मरीचलगायत मसलाको प्रयोगले संक्रमण वरुद्ध प्रतिरोधी क्षमता बढाउने आयुर्वेद चिकित्सकको भनाइ छ। यसबारे चरक संहितामा उल्लेख गरिएको डा.रोकाले बताए।

प्रतिक्रिया