छापा खबर


प्रधानमन्त्रीलाई जे बोल्न पनि छुट छ?

प्रधानमन्त्रीलाई जे बोल्न पनि छुट छ?

नेपालखबर
असार ६, २०७७ शनिबार ३:४,

मुलुकको कार्यकारी प्रमुख देश र जनताप्रति जिम्मेवार हुनुपर्छ। कार्यकारी प्रमुखले जनताको आशा र अपेक्षा सम्बोधन गर्नुका साथै व्यक्त गर्ने धारणा पनि तथ्य, तथ्यांकमा आधारित र जिम्मेवारपूर्ण हुनुपर्छ।

त्यसमा पनि संसदीय शासन व्यवस्थामा कार्यकारी प्रमुख (प्रधानमन्त्री) जनताको प्रतिनिधिमूलक संस्थाप्रति अझ बढी जवाफदेही हुनुपर्छ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा संघीय संसद्मा राखेका धारणा गैरजिम्मेवार छन्। प्रधानमन्त्री ओलीका कुरा सुन्दा उनले ले जे बोले पनि हुन्छ जस्तो लाग्छ।

देश, जनता र संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्री आफूखुसी जे मनलाग्यो त्यही बोलिरहेका खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्।

प्रधानमन्त्री संसद् र जनताप्रति जवाफदेही हुनुपर्नेमा उनले गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएको नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल बताउँछिन्। ‘प्रधानमन्त्री ओलीले जनताको अपेक्षा सम्बोधन गर्नुपर्छ। सबै मन्त्रालयको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन्, ‘तर प्रधानमन्त्रीका कुरा सुन्दा उहाँले जनताको आकांक्षा सम्बोधन गर्ने र मन्त्रालयहरुको जिम्मेवारी लिनुभन्दा आफूखुसी अन्टसन्ट धारणा राख्दै आउनुभएको छ।’

मन्त्रीहरुले राख्ने धारणा पनि जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै भुसालले प्रधानमन्त्रीले राख्ने धारणा त अझ धेरै जिम्मेवारपूण हुनुपर्ने बताइन्। ‘उहाँ (प्रधानमन्त्री) जिम्मेवार देखिनुभएन,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले राखेका धारणा सुन्दा लाग्छ उहाँमा म नै अलइन अल हो भन्ने बुझिन्छ। उहाँले भनेकै मात्र सत्य हो। बहुमतको प्रधानमन्त्रीले जे भने पनि हुन्छ जस्तो देखियो। जुन ठिक होइन। मुलुकमा सबैभन्दा जिम्मेवार प्रधानमन्त्री हुनुपर्छ।’

सरकारी अधिकारीले कोरोना भाइरस (कोभिड–१९) बारे विश्व स्वास्थ्य संगठन र अन्य आधिकारिक निकायको सूचनामात्र विश्वसनीय हुने बताउँदै आए पनि प्रधानमन्त्री ओलीले कोरोना भाइरसबारे बोलेका कुराले जनतालाई भ्रमित बनाएको छ।

प्रधानमन्त्री ओलीले संसद्मा जबाफ दिने क्रममा नेपालीमा कोरोना प्रतिरोधी क्षमता बलियो छ भन्ने दाबी गरे। तर उनको यो दाबीलाई पुष्टि गर्ने कुनै आधार देखिएको छैन। कोरोना संक्रमित दैनिक ५ सयभन्दा बढीका दरले बढ्न थालेका छन्। प्रतिनिधिसभामा बेसारले औषधिको काम गर्ने भनेका प्रधानमन्त्रीले राष्ट्रियसभामा भने बेसारले विषको काम गर्ने बताए।

कोरोना भाइसरबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको सरकारले नै घोषणा गरेको छ। तर प्रधानमन्त्रीले कोरोनाका कारण तीनजनाको मात्र मृत्यु भएको बताएका छन्। त्यति मात्र होइन प्रधानमन्त्रीले चीनको वुहानबाट आएको कोरोना भाइरसभन्दा भारतबाट आएको कोरोना भाइरस अलि कडा रहेको बताए।

नेपालीमा प्रतिरोधात्मक क्षमता बढी हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति टिप्पणी गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘मलाई यस विषयमा कुनै पनि जानकारी नभएकाले प्रधानमन्त्रीजीले बोलेको कुरा ठिकै होला।’

यस विषयमा राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘प्रत्येक दिन पाँच सय हाराहारी दरले कोरोना संक्रमित बढेका छन्, यस्तै हो भने २० हजार संक्रमित पुग्न धेरै दिन लाग्दैन। प्रधानमन्त्रीले प्रतिरोधात्मक शक्ति बढी छ भनेको कुरा यसैले देखाएको छ। ’ प्रधानमन्त्रीले अन्टसन्ट बोल्नुभन्दा समस्या समाधानतर्फ गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव छ।

प्रधानमन्त्री ओलीले मुलुकमा साउनमा कोरोना संक्रमण उत्कर्षमा पुग्ने, त्यसपछि दसैं–तिहारपछि उत्कर्षमा पुग्ने र फागुनमा नियन्त्रण हुने बताएका छन्। चैत २९ गते मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले गरेको आन्तरिक बैठकको भिडियो सार्वजनिक भयो।

त्यो भिडियोमा उनले कोरोना भाइरस सर्ने विषयमा धारणा राखेका थिए। उनले त्यो बैठकमा राखेका धारणाको केही अर्धसत्य एवं भ्रमपूर्ण भन्दै आलोचना भयो। मुख्यमन्त्रीसँगको बैठकमा प्रधानमन्त्रीले कोरोना भाइरसको विशेषता पनि बताएका थिए। भाइरस कसरी सर्न सक्छ भन्ने प्राविधिक विषयमा समेत उनी बोलका थिए। कोरोना पहिला मुख, दोस्रो आँखा र तेस्रो नाकबाट सर्छ भनेर प्रधानमन्त्रीले भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad