छापा खबर


भारत असल नियतकासाथ वार्ताको टेबुलमा बस्नुपर्छ : प्रदीप ज्ञवाली

भारत असल नियतकासाथ वार्ताको टेबुलमा बस्नुपर्छ : प्रदीप ज्ञवाली

नेपालखबर
असार ६, २०७७ शनिबार १:२३,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच लामो समयदेखि हुन नसकिरहेको वार्ताको ढोका भारतले खोल्नुपर्ने बताएका छन्।

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूूलाई नलागेको भन्दै उनले असल नियतका साथ वार्ताको टेबुलमा बस्दा जटिल समस्याहरूको समाधान हुने बताए। यो खबर आजको गोरखापत्र दैनिकमा श्रीधर आचार्यले लेखेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताका लागि सरकारले भारतलाई विभिन्न समयमा पत्र पठाएको र भारतको तर्फबाट सार्थक जवाफको प्रतीक्षा गरिरहेको बताए।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको अद्यावधिक नयाँ नक्सा प्रकाशित गरी त्यसलाई संविधान संशोधनबाट वैधानिकता दिएको वर्तमान अवस्थामा अब सीमा समस्या समाधानका लागि भारतसँगका कुन ढङ्गले पहल भइरहेको छ भन्ने सन्दर्भमा गरिएको कुराकानीमा उनले भने, ‘‘नेपालले आफ्नो अडानलाई स्पष्ट पारेको छ, सिङ्गो राष्ट्रको यो साझा अभिमतलाई भारतीय मित्रहरूले बुझ्नुपर्छ।’

नेपाल–भारत सीमा समस्या इतिहासले अधुरो छोडेको दायित्व भएको स्पष्ट पार्दै ज्ञवालीले भने, ‘‘अहिले दुई देशका राजनीतिक नेतृत्वसामु समस्या समाधान गर्ने र एक्काइसौँ शताब्दी अनुरूपको सम्बन्ध विकास गर्ने ऐतिहासिक अवसर आएको छ।’

नेपाल–भारत सम्बन्धका अनेकौँ आयाम रहेको र ती घनिष्ट रूपले आबद्ध भएकाले कुनै एउटा मुद्दा विशेषले सम्बन्धको आयामलाई कमजोर पार्दैन र पार्नु हुँदैन भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले अगाडि भने, ‘‘हामी भारतसँग एउटा घनिष्ट छिमेकीपन, परस्परका संवेदनशीलतालाई बुझ्ने मित्र र सुखदुःखको साथीका रूपमा सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad