ad ad

छापा खबर


कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएपछि आफन्तले अस्पतालको ढोका फुटाएर जबर्जस्ती शव लगे

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएपछि आफन्तले अस्पतालको ढोका फुटाएर जबर्जस्ती शव लगे

नेपालखबर
असार १, २०७७ सोमबार १:४४,

कोरोना परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबर्जस्ती उठाएर दाहसंस्कार गरेका छन्।

पर्वतको कुस्मा नगरपालिका ४ कुस्माबजारकै पदमबहादुर परियारको शव आफन्तले शवगृहबाट जबर्जस्ती उठाएर आइतबार दिउँसो दाहसंस्कार गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पर्वतबाट माया अधिकारीले लेखेकी छन्।

गम्भीर बिरामी भएका परियारलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परीक्षणको रिपोर्ट पर्खँदै अस्पतालको मुर्दाघरमा राखिएको थियो।

तर आफन्तले भने आइतबार दिउँसोसम्म पनि परीक्षणको रिपोर्ट नआएको भन्दै अस्पतालको शवगृहबाट ढोका फोरेर जबर्जस्ती शव दाहसंस्कारका लागि लगेको अस्पताल प्रशासनले जनाएको छ।

आफन्तले जबर्जस्ती शव उठाएपछि जिल्लामा खैलाबैला नै मच्चिएको छ। पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार उनीहरुले मुर्दाघरको ढोका जबर्जस्ती फुटाएर शव लगेका थिए। कोरोना परीक्षणको रिपोर्ट आउने बेलासम्म पर्खिन अनुरोध गर्दागर्दै आफन्तले ढोका फुटाएर शव लगेको डा.देवकोटाले बताए।

डा.देवकोटाका अनुसार मृतक परियारको आकस्मिक मृत्यु भएका कारण कोरोना परीक्षण गर्नु अनिवार्य छ । त्यसका लागि शनिबार नै स्वाव संकलन गरी पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न पठाइएको थियो । दिउँसो ४ बजेसम्म रिपोर्ट आउने प्रतिक्षामा डाक्टरहरु थिए।

हिजो शनिबार अस्पतालमा शव ल्याउन समेत नमानेको र ल्याएपछि पनि आफन्तले तोडफोड गरेका छन् । शनिबार पनि मृतकका आफन्तले अस्पतालका कुर्सी तोडफोड गर्न थालेपछि जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलको उपस्थितिमा सहमति कायम गरेर श्वाब संकलन गरी परीक्षण गर्न पठाइएको थियो।

मृतक परियार विगत २ वर्षदेखि कलेजोको रोगबाट पीडित थिए। मृतकका छोरा विजय परियारका अनुसार उनलाई जेठ २४ देखि २८ गतेसम्म पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरी घर ल्याइएको थियो।

कुस्मा नगरपालिका ३ का एक जना संक्रमित समेत देखिएको हुनाले मृतक परियारमा पनि कोरोना संक्रमण हुन सक्ने आशंका स्वास्थ्यकर्मीले व्यक्त गरेका छन्।

तर, घर परिवार भने मृतक पदमवहादुरमा कोरोनाको कुनै आशंका नरहेको जिद्धी गर्दैआएका छन् । स्थानीयले भने वडाध्यक्षको रोहवरमा शव बुझेर दाहसंस्कारमा लगिएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .