बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ। कम्तीमा ३३ जना बेपत्ता भएका छन्।
राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ।
समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन।
यसले बाढीपहिरो आउने क्रम जारी छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
उद्धारमा ३५ हजार सुरक्षाकर्मी
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि २१ जिल्लाका ३२ स्थानमा ८ हजार नेपाली सेना परिचालित भएका छन्।
अति प्रभावित १४ जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलाञ्चोकमा सेनाले ३ सय ५८ जनाको सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सेनाले पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग, काठमाण्डौ–हेटौडा सडक, भोजपुर–खोटाङ–लेगुवा सडक सुचारु गरी यातायात आवागमन सहज बनाएका छन्।
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकसहित काठमाडौँ उपत्यकामा ८८५६, प्रदेश १ मा ६३०५, प्रदेश २ मा ५७०२, प्रदेश ३ मा ३४०५ र प्रदेश ६ मा ३११२ जना गरी २७,३८० प्रहरी परिचालित छन्।
विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।

प्रतिक्रिया