बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ।
पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्।
प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए।
उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ। कटहरी–१, २, ३, ४ वडाका अधिकांश बस्ती जलमग्न रहेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए।
उनका अनुसार कटहरी र धनपालथानको सिमाना भएर बग्ने लोहन्द्रा खोलाको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेका छन्। बाढीले घरै बगाउन लागेको कटहरी–३ का उमेशकुमार साहले बताए। परिवारका सदस्य खुला ठाउँमा बसिरहेको उनले सुनाए।
झापाका नदीहरूमा पानीको बहाव बढेको छ। कन्काईमा बहाव सतर्कता तहनजिक छ। कन्काईको मैनाचुलीबाट भाकुरमारीसम्मका १ हजार ८ सय ५६ परिवार उच्च जोखिममा छन्। मेची नदीको बहाव बढेकाले भद्रपुर–३ को सन्थाल बस्ती डुबानमा परेको छ। बिर्तामोडमा अदुवा खोलामा बहाव बढेको छ।
तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ। धनुषा र सिरहामा कमला, महोत्तरीमा रातु, जङ्हा र ओक्सी, रौतहटमा लालबकैया र बागमती नदीको बहाव बढेर बस्तीसम्म पुगेको छ।
सप्तरीको सप्तकोसी, पर्साका गण्डक, औरिया, भलुवाही, सिक्टा र तिलावे नदीमा आएको बाढीले धेरै क्षति पु¥याउने सम्भावना बढेको छ। बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्न प्रहरी खटिएका छन्।
महोत्तरीका ४० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन्। कमला नदीको पूर्वी किनाराका सिरहा–६ का बसपिटा र कल्याणपुर–१२ का बेल्हाबाट सारश्वर गाउँमा बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन्।
सिरहाको कल्याणपुर–५ स्थित कमला नदीको टापुमा चार जना फसेका छन्। उनीहरू शुक्रबारसम्म बाहिर निस्किन सकेका छैनन्।
रौतहटमा पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्ड बाढीका कारण २० घण्टा अवरुद्ध भयो। बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदीको बहाव बढ्दै गएको छ।
वृन्दावन–१ स्थित बागमती नदीबीचमा रहेको बलेरी टोलका १७ जना फसेका थिए। उनीहरूलाई सेनाले उद्धार गरेको इन्द्रबक्स गणका कर्नेल सुजन शाक्यले बताए।
सप्तकोसीमा पानीको बहाव बढेको छ। कोसी ब्यारेजका ५६ ढोकामध्ये २३ खोलिएको छ। खतराको संकेतस्वरूप कोसी ब्यारेजमा रातो झन्डा र रातो बत्ती बालिएको छ।
प्रदेश ३ को मकवानपुरबाट काठमाडौं जोड्ने चार सडक बाढीपहिरोका कारण अवरुद्ध भएका छन्।
भीमफेदी–१ भैंसेस्थित बागझोरा खोलामा बाढी आउँदा कुलेखानी–सिस्नेरी, फाखेल र त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रभावित भएका हुन्।
बागमती नदीको बाढी बस्तीमा पस्दा सिन्धुलीको हरिहरपुरगढी–३ बसपार्कका ६० भन्दा बढी घर डुबानमा परेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताए।
मरिण नदीको बाढीका कारण एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन्। मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनका अनुसार वडा नम्बर ७ को बाह्रबिसे डुबानमा परेको छ।
बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएका छन्। बीपी राजमार्गको नेपालथोक–खुर्कोट र सोलाभञ्याङ–खनियाँखर्क खण्डमा झरेको पहिरो हटाएर शुक्रबार साँझदेखि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ। कमला नदीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।
तावा खोलाको बाढीले बाँध भत्काउँदा दुधौली जोखिममा परेको छ। सिन्धुली र उदयपुर जिल्लाको सिमाना भई बग्ने तावा तथा ककुर खोलामा आएको बाढीले दुधौली नगरपालिकानजिकै रहेको बाँध भत्काएको हो। सिन्धुलीतर्फ दुधौली नगरपालिकाको डम्बरखानी बस्ती जोखिममा छ।
धादिङको नीलकण्ठ–३ स्थित शीतल बजारको मुख्य सडक पुनः भासिन सुरु भएपछि स्थानीयका घर जोखिममा परेका छन्।
लेदो पृथ्वी राजमार्गमा थुप्रिँदा बेनीघाट रोराङ गाउँपालिका–१० बाँदरे मोडमा तीन घण्टा यातायात सञ्चालन हुन सकेन।
शुक्रबार दिउँसो १ बजे सडकमाथि घडेरी खारेको ढिस्कोसँगै लेदो खसेपछि प्रहरी, स्थानीयले राजमार्ग एकतर्फी खुलाएका थिए। दोलखाको भीमेश्वर नगरपालिका–९ हलहलेमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ।

प्रतिक्रिया